रोनाल्डोमाथि लाग्यो गम्भीर आरोप !
काठमाडौंः इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि एक गम्भीर आरोप लागेको छ। युभेन्ट्सका पूर्व मिडफिल्डर डोमिनिको मारोकिनोले रोनाल्डोले टिमका लागि नभई आफ्नो लागि मात्र खेल्ने गरेको आरोप लगाएका छन्।
इटालीको टिएमडब्लु रेडियोसँगको अन्तर्वार्तामा मारोकिनोले रोनाल्डो आफ्नो लागि मात्र खेल्ने गरेको आरोप लगाएका हुन्। ‘युभेन्ट्ससँग क्लासिक स्ट्राइकर छैन। रोनाल्डो हैन। उनी आफ्नो लागि खेल्छन्। टिमका लागि हैन,’ उनले भने।
पोर्चुगिज फरवार्ड रोनाल्डो २०१८ मा रियल मड्रिडबाट टुरीन आएका थिए। उनले युभेन्ट्सका लागि १ सय ३३ खेलमा १ सय १ गोल र २२ असिस्ट गरिसकेका छन्। गत सिजन उनले ३३ सिरी ‘ए’ खेलमा २९ गोल गरेका थिए। तर, युभेन्ट्स सिरी ‘ए’ को उपाधि जित्न असफल भएको थियो।
रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिँदैछ।