सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयमा मन्त्रीका आफन्त कर्मचारीको मस्ती, अन्यलाई सास्ती

२०७८ साउन ३०, ०५:४५ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा गत जेठ १४ गते नियुक्त भएका लालबहादुर खड्काको निजी सचिवालयका कारण सामाजिक विकास मन्त्रालयका कर्मचारी आतंकित भएका छन्। 

मन्त्री तथा मन्त्रीको सचिवालयले अनावश्यक रुपमा पटकपटक दुःख दिने नियतले मन्त्रीको चेम्बरमा बोलाएर नानाथरी कुरा सुनाउने तथा सरुवाको धम्की दिने गरेको कर्मचारीले गुनासो गरेका छन्। मन्त्रालयमा मन नपरेका कर्मचारीलाई लखेट्ने, आफन्त र निकटका व्यक्तिलाई मन्त्रालयमा ल्याउने कामको थालनी भएको एक कर्मचारीले बताए।  

मन्त्री खड्काले नीजि सचिवलयमा सम्धिनी नाता पर्ने लिलावती विष्ट भाटको गैरकानुनी काज सरुवा गराएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकामा सिनियर अनमी रहेकी लिलावती विष्ट भाटलाई मन्त्री भएको ८ दिनमै जेठ २१ गते नगरपालिकालाई पत्र लेखेर काजमा खटाउन आदेश दिइएको थियो। 

जबकी स्थानीय तहको कर्मचारीलाई प्रदेशको कुनै पनि मन्त्रालयले सिधै काजमा खटाउन आदेश दिन नपाउने कानूनी व्यवस्था छ। प्रदेश सरकार मातहतको कार्यालयमा स्थानीय तहको कर्मचारी काम गर्न खटाउने निर्णय गर्न संघीय सरकारको सामान्य प्रशासन मान्त्रालयले मात्रै पाउँछ। त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकारलाई अनुरोध गर्नुपर्ने हुन्छ। तर मन्त्री खड्काले भने अधिकृत छैठौंको दरबन्दीमा सहायक पाचौँकी सम्धिनीलाई नीजि सचिवालयमा तानेर कानूनको उल्लंघन गरेका छन्।

सम्धिनीलाई कानून विपरीत मन्त्रालयमा मात्रै ल्याइएको छैन, गैरकानुनी हिसाबले भ्रमण भत्ता समेत खाने मेसो मिलाइएको छ। नीजी सचिवालयमा कार्यरत विष्टले जिल्ला भ्रमणमै नगएर एकै मितिमा दोहोरो भ्रमण गरेको अभिलेख खातामा देखिएको छ। लिलावती विष्ट भाटले गत असार १८ गतेदेखि २२ गतेसम्म ५ दिन बैतडी र दार्चुलामा भ्रमण गरेको अभिलेख छ भने असार २० गतेदेखि २३ गतेसम्म चार दिन अछाम जिल्लाको भ्रमण गरेको दोहोरो अभिलेख छ। विष्टले बैतडी र दाचुर्लाको भ्रमण गरेको समय र दिनमा अछामको पनि भ्रमण गरेको अभिलेखमा उल्लेख छ।

सामाजिक विकास मन्त्रालयमा मन्त्री खड्काले आफू निकट कर्मचारी भित्र्याउन अहिले कार्यरत कर्मचारीहरुलाई सरुवा पत्र तयार गरेर इमेलमार्फत पठाउन थालेको समेत खुलेको छ। संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय मातहतका कर्मचारीलाई सरुवा गर्ने अधिकार नभएपनि सिनियर अनमी निरीक्षक अधिकृत छैठौमा कार्यरत पुष्पा जोशी अवस्थीलाई साउन १९ गते स्वास्थ्य कार्यालय दार्चुला सरुवा गरिएको छ। 

सामाजिक विकास मन्त्री लालबहादुर खड्काले नीजि सचिवालयमा संम्धिनी मात्रै ल्याएका छैनन्। उनले स्वकीय सचिवमा आफ्नै भान्जा भुवन बडुवाललाई नियुक्ति दिएको मन्त्रालय स्रोतको दाबी छ। मन्त्रालयको कामकारबाहीमा मन्त्रीको नीजी तथा स्वकीय सचिवालयले अनावश्यक हस्तक्षेप गर्ने गरेको तथा कर्मचारीहरुलाई विभिन्न बहानामा आतंकित गर्ने गरेको बताइएको छ।

खड्का मन्त्री भए लगत्तै उनका आफन्त तथा विभिन्न नाता पर्नेहरुले मन्त्रालयमा डेरा जमाएको र बिचौलियाको काम गर्ने नातेदारका कारण काम गर्न समस्या हुने गरेको कर्मचारीले बताएका छन्। यसबारे मन्त्री खड्काका स्वकिय सचिव भुवन बडुवालले बोल्न मानेनन्। भने, मन्त्री खड्काले ‘व्यस्त छु’ भन्दै फोन काटिदिए। 

सामाजिक विकास मन्त्रालयमा ४ वर्षको अवधिमा ३ मन्त्री फेरिए पनि कार्यशैली फेरिएको छैन। मन्त्रालय गठनपछि पहिलो पटक सामाजिक विकास मन्त्री दीर्घ सोडारी भएका थिए। त्यसपछि कृष्णराज सुवेदीले मन्त्री पद सम्हालेका थिए। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस