डडेल्धुरामा ‘भर्जिन’ का कारण व्यापारीमाथि चक्कु प्रहार गर्ने २ जना पक्राउ
डडेल्धुरा: डडेल्धुरामा व्यापारीमाथि चक्कु प्रहार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। बिहीबार साँझ जिल्लाको अमरगढी नगरपालिका–११ रडुवामा होटल सञ्चालन गर्दै आएका व्यापारी खेमराज अवस्थीमाथि चक्कु प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
पक्राउ पर्नेमा गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का अन्दाजी २१ वर्षीय राजेश मल्ल र आन्दाजी २० वर्षीय सागर मल्ल रहेको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए। दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।
यसरी भयो घटना
बिहीबार साँझ खेमराज अवस्थी आफ्नो नास्ता तथा मदिरा पसलमा थिए। करिब साढे ५ बजेतिर उनको पसलमा केही युवा ‘भर्जिन’ नामक मदिरा खरिद गर्न आए। उनीहरुले एक बोत्तल खरिद गर्न खोजेका थिए। पसल सञ्चालक खेमराजले एक बोत्तलको १ हजार रुपैँया भनेपछि ती युवाहरुलाई मूल्य चित्त बुझेन। त्यसपछि उनीहरु त्यो पसलभन्दा अलिक माथि रहेको मदिराको थोक पसलतर्फ लागे। केही बेरमा उनीहरु आएर आफूहरुले ८ सय ५० मा भर्जिन किनेर ल्याएको बताउँदै खेमराजलाई गालीगलौच गर्न लागे तर खेमराज केही बेलेनन्।
उनले आफ्नो पसल खुद्रा भएकाले केही महंगो दर हुने बताए। त्यसपछि युवाको समूह त्यहाँबाट निस्कियो। तर पुनः १५ मिनेटपछि त्यो समूह खेमराजको पसल अगाडिबाट गाली गर्दै गयो। उनको पसलभन्दा केही माथिको पसलमा गएर त्यो समूहले २० रुपैँयाका लागि विवाद गर्न लग्यो। त्यो देखेर खेमराज त्यहाँ गएर उनीहरुलाई सम्झाउन लागे तर युवाहरुले उनलाई फेरि गाली गरे।
केही बेरपछि त्यो समूह त्यहाँबाट लाग्यो। तर करिब आधा घण्टापछि उनीहरु पुनः त्यहाँ फर्के। पानी मागेका उनीहरुलाई खेमराजले धारा देखाएका थिए। युवाको समूहले उक्त धारामा टाउको पखालेपछि खेमराजसँग तौलिया माग्न थाल्यो। तर खेमराजले तौलिया छैन भनेका मात्रै के थिए एक जनाले उनको घाँटी ताकेर चक्कु प्रहार गर्याे। खेमराज त्यो प्रहार छल्न सफल भए तर उनको कानमा चक्कु लाग्यो। त्यसपछि अर्को प्रहारबाट उनको पाखुरा काटियो।
समूहले लगातार गालीगलौचसहित चक्कु हान्न थालेपछि खेमराज भागेर अलि माथि रहेको जंगलमा लुके र त्यहाँबाट प्रहरीलाई फोन गरे। प्रहरीलाई खबर गरेको भन्ने थाहा पाएपछि उक्त समूह त्यहाँबाट सुइकुच्चा ठोकेको थियो।
प्रहरी आएपछि घाइते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको कानमा एउटा र पाखुरामा ३ वटा टाँका लगाइएको छ। उपचारपछि हाल उनी घरमा छन्।
(पीडित खेमराज अवस्थीसँग गरिएको कुराकानीको आधारमा)