वातावरण संरक्षण गर्न अछाममा 'रिचार्ज पोखरी' निर्माण अभियान
एकेन्द्र खत्री, अछाम: अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गरेको छ। वातावरण संरक्षणका लागि भन्दै गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गरेको हो।
चौरपाटी गाउँपालिकाले ३ वर्ष अघिदेखि यो अभियान सञ्चालन गर्दै आएको छ। ‘३६४ दिन आफ्नो कामको लागि उठौ, एक दिन वातावरण संरक्षणका लागि जुटौ’ भन्ने नाराका साथ रिचार्ज पोखरी वर्ष मनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनबहादुर थापाले बताए।
पालिकाभर ७ हजार ५० बढी रिचार्ज पोखरी निर्माण गरिएका छन्। वर्षभरी आफ्नो व्यक्तिगत काम गरेपनि एक दिन वातारण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर र चराचुरीको संरक्षण हुने हुँदा रिचार्ज पोखरी अभियान सञ्चालन गरिएकाे गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए।
रिचार्ज पोखरी निर्माण गरे तत्काल यसको फाइदा नदेखिए पनि विस्तारै यसको सकारात्मक प्रभाव देखिने विज्ञहरु बताउँछन्।
पानीको मुहान माथि पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाँडामा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानीको अभाव नहुने तथा खेतीपातीको संरक्षणमा समेत टेवा पुग्ने रिजार्च पोखरी निर्माणका अभियानकर्ता डा. चिरिन्जीवी भट्टराइले बताए।