शिक्षक महासंघको आन्दोलनमा सामाजिक विकास मन्त्रीको ऐक्यबद्धता
विभिन्न २६ सुत्रिय माग राखेर आन्दोलनमा उत्रिएको शिक्षक महासंघको आन्दोलनमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ऐक्यबद्धता जनाएका छन्। नेपाल शिक्षक महासंघ सुदूरपश्चिम प्रदेशले आज सामाजिक विकास मन्त्रालय परिसरमै गरेको विरोध सभामा बोल्दै मन्त्री सुवेदीले आन्दोलनमा आफ्नो पनि ऐक्बद्धता रहेको बताएका हुन्।
विरोध सभामा सहभागी शिक्षकलाई मन्त्रालयमा स्वागत गर्दै सुवेदीले माग सम्बोधनका लागि पहल गर्ने बताउदै आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्। प्रदेशको शिक्षा हेर्ने जिम्मेवारी समेत उनकै मन्त्रालयको हो।
मन्त्री सुवेदीलाई माग पत्र बुझाउदै नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष इन्द्रराज भट्टराईले आफ्ना माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। महासंघले स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने लगयातका माग राखेको छ ।