सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्सेनि किन डुब्छ धनगढी ? यस्ता छन् ५ कारण

फोटो: दिपक बम योगेन्द्र
फोटो: दिपक बम योगेन्द्र
२०७८ साउन २८, ०४:३३ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने वडा नम्बर १ देखि ८ सम्म हरेक वर्ष डुबानको सामस्या बढ्दो छ। केही वर्ष अगाडिसम्म रातदिन पानी पर्दा पनि डुबानको समस्या नहुने बस्ती अहिले क्षणभरको वर्षाले डुबाउँछ। उपमहानगरको मुख्य र शाखा सडक जलमग्न हुन्छन्।

५२ वर्षदेखि धनगढीमै बस्दै आएका धनगढी–२ का पुष्पराज जोशी भन्छन्, ‘धनगढीमा पहिले विशालनगरको माधवी चलचित्र हल वरपरको स्थान, हसनपुरको ऐश्वर्य विद्या निकेतन पछाडि र श्रीलंका टोलमा मात्रै डुबान हुने गरेको थियो।’ अहिले भने क्षणभरको वर्षामै धनगढी डुब्ने गरेको छ। धनगढी डुब्नुको पछाडि ५ कारण देखिएका छन्।

१‍. खोलानाला, नहर तथा कुलो अतिक्रमण
धनगढी उपमहानगरमा डुबानको समस्या बढ्नुकाु मुख्य कारण सार्वजनिक जग्गामाथिको अतिक्रमण हो। उपमहानगरका खोलानाला, नहर तथा कुलो अतिक्रमणको चपेटामा परेका छन्। धनगढीका रहेका कैलाली खोला, सकुटी नाला, भंगी नाला र शिवनगर नाला अतिक्रमण गरेर सयौं घर निर्माण गरिएका छन्। खोला तथा नालाको बहाव क्षेत्र साँघुरो हुने गरि निर्माण गरिएका घर तथा पर्खालले धनगढी भएर बग्ने पानी घरभित्र पस्न थालेको हो। खोलानाल मात्रै होइन नगरका विभिन्न टोल तथा बस्ती भएर पानी बग्ने पुराना नहर र कुलोमा पनि घर र सडक निर्माण गरिएको छ। 

२. सार्वजनिक ताल अतिक्रमण
धनगढी उपमहानगरपालिकामा सय बढी सार्वजनिक ताल थिए। तीमध्ये अधिकांशको अहिले अस्तित्व नै मेटिएको छ। विगतमा बर्सातको पानी बस्तीमा रहेका तालहरुमा जम्मा हुने गरेको कारण नगरमा डुबानको समस्या थिएन्। तर नगर विकास समितिले नै ती ताल बिक्री गरेपछि बर्सातको पानी घरमा जम्न थालेको हो। 

३. नगर विकास तथा उपमहानगरपालिकाको अकर्मण्यता
धनगढीमा डुबान हुनुको मुख्य दोषी धनगढी नगर विकास समिति र उपमहानगरपालिका रहेको तथ्यले पुष्टि गर्छ। धनगढी नगर विकास समितिले नगरको ९ सय ३१ विघा सार्वजनिक जग्गा बिक्री गरेको छ। २०४९ देखि २०७२ सम्म नगर विकासले खोलानाला तथा ताल क्षेत्रको जग्गा व्यक्तिका नाममा दर्ता गरेको हो। 

नगर विकासले पटकपटक करिव २ सय विघा खोलानाला किनार तथा ताल क्षेत्रको जग्गाको लालपुर्जा दिएको कारण बर्सातको पानी जम्मा हुने तथा बग्ने क्षेत्रमा घर लगायतका भौतिक संरचना बनेका छन्। धनगढी उपमहानगरपालिका पनि नगरमा डुबान बढाउने मतियार बनेको छ। नगर विकासले जथाभावी वितरण गरेको लालपुर्जाकै आधारमा उपमहानगरपालिकाले घरको नक्सा पास गरेको छ। नगर विकास समितिले वितरण गरेका लापूर्जामा नक्सा पास मात्रै गरेको छैन स्वय उपमहागनरपालिकाले नहर र नाला मिचेर सडक निर्माण गरेको छ। 

४. अव्यवस्थित शहरीकरण
धनगढी उपमहानगरपालिका तथा नगर विकास समितिले नगरमा बस्ती विकास गर्ने योजना ल्याउन नसक्दा जथाभावी घर र सडक निर्माण गरिएका छन्। यसरी नगरको विकास गर्दा खुला ठाउँ, खोलानाला तथा ताल क्षेत्रसहित खुला सार्वजनिक ठाउँ समेत राखेर नगरमा बस्ती विकास गर्नुपर्ने भएपनि धनगढीमा भने नगर विकासको योजनाअनुसार सहरको विकास गर्न नसकिँदा धनगढीमा डुबान बढेको हो। 

५. सडक तथा नाली निर्माणमा त्रुटि
धनगढी उपमहानगरपालिकामा निर्माण गरिएका सडक साँघुरा छन्। केही सडक त नाली नै नभएका पनि छन्। नाली निर्माण नगरी बनाइएका सडक र पानी नबग्ने गरी बनाइएका नालीका कारण पनि बर्सातको पानी बस्तीमा जम्ने गरेको छ। धनगढीमा विभिन्न बस्तीमा बनाइएका सडकमा कल्भर्ट निर्माण नगरिदा पनि पानी बस्तीमा नै थुनिने गरेको छ। 


०००

धनगढी डुबान पर्नुका कारणको पहिचान गर्न र त्यही अनुरुप डुबान रोक्न उपमहानगरपालिकाले ठोस योजना ल्याउनुपर्ने नगरवासीको माग छ। धनगढीमा हुने डुबानको समस्या समाधान गर्न नगर विकासले बाँडेका खोलानाला तथा तालको लालपुर्जा खारेज गर्नुपर्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउनुपर्ने माग पनि उठ्दै आएको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड पनि असोजदेखि खोलानालको जग्गामा बाडिएका लालपुर्जा खारेज गर्ने र अतिक्रमित क्षेत्रमा डोजर लगाउने बताउँदै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस