बैतडीको धरमघरमा पहिरोको जोखिम
धनगढी: बैतडीको धरमघरमा पहिरोको जोखिम कायमै रहेको छ। जिल्लाको सुर्नया गाउँपालिका -३ स्थित धरमघरमा पहिरो खस्न थालेको छ।
महाकाली लोकमार्गको सो सडकमा मोड सुधार कार्यक्रम अन्तर्गत मोड काटिएपछि पहिरो खस्न थालेको बताइएको छ। पानी पर्यो कि पहिरो खस्ने र पहिरो पन्छ्याउने काम धेरै ढिला गरेर हुने भएकाले यात्रुहरुलाई समस्या हुने गरेको त्यहाँका स्थानीयको गुनासो छ।
दार्चुला जाने तथा दार्चुलाबाट अन्य जिल्ला जाने गाडीहरुको मार्ग पनि भएकाले झनै समस्या हुने गरेको छ। पहिरोले गर्दा एम्बुलेन्समा बिरामी लैजान समेत समस्या हुने गरेको बताइएको छ। सडक डिभिजन कार्यालय पाटन बैतडीले भने स्थानीय निर्माण व्यवसायीहरुसँग सहकार्य गरी पहिरो पन्छ्याउने र नियमित पहिरो सफा गर्ने गरिएकोे बताएको छ।