सुदूर नेपाललाई विश्वसँग जोड्दै

नगर विकासले बेचेको धनगढीको ‘नेतुवा’ ताल संरक्षण गर्न पौने ५ करोडको ठेक्का

२०७८ साउन २८, ०७:०० नारायण अवस्थी

धनगढी: नगर विकास समितिले बिक्री गरेको धनगढीको नेतुवा ताल संरक्षण गर्न पौने ५ करोडको ठेक्का सम्झौता भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का बस्तीमा जम्ने पानी नेतुवा तालमा जम्मा गर्ने र ताल भरिएपछि मोहना नदीमा पानी निकास गर्ने योजनासहित ठेक्का सम्झौता भएको वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले बताए।

‘विगतमा नगर विकास समितिका अध्यक्षहरुका कारण नगरको धेरै सार्वजनिक जग्गा विक्री भएको थियो,’ उनले भने, ‘नेतुवा तालको मात्रै झण्डै एक विघा अतिक्रमित क्षेत्र खाली गरेर अहिले संरक्षणको योजना अगाडि बढेको छ।’ नेतुवा ताललाई वाटरपार्क बनाउनका लागि बिस्तृत योजना तयार गरिएको दाबी उपमहानगरको छ।

संघीय सरकारको पर्यटन मन्त्रालयले ६० प्रतिशत र उपमहागरपालिकाले ४० प्रतिशत लगानी गर्ने गरी तालको संरक्षणका लागि चार करोड ७४ लाखमा ठेक्का भएको वडा अध्यक्ष ऐरले बताए। वडा नम्बर ३ मा बर्सातको पानी नेतुवा तालमा जम्मा गर्ने र ताल भरिएपछि मोहना नदीमा पानी निकास गर्ने योजनासहित देव एण्ड सायर/टेडी/मणिलेक जेभीले चार करोड ७४ लाखमा ठेक्का पाएको हो। सम्झौता अनुसार २०८० साल फागुन ३० गतेसम्म कम्पनीले काम गरिसक्नुपर्ने छ। 

६४ कट्ठा क्षेत्रफलमा फैलिएको ताल तत्कालिन नगर विकास समितिले १२ कट्ठा बिक्री गरेको थियो। फोरमका तर्फबाट तत्कालीन नगर विकास समितिका अध्यक्ष गोबिन्द रानाको पालामा २०६६ साल माघ ८ गते र फागुन १४ गते नेतुवा तालको १२ कट्ठा जग्गा बिक्री गरिएको थियो। व्यक्तिका नाममा ताल क्षेत्रको जग्गा दर्ता गराउन मालपोत कार्यालयमा सिफारीस पठाउने निर्णय गर्दा तत्कालिन जग्गा छानबिन उपसमितिका संयोजक सन्तराम राना, सदस्य शंकर कुँवर, प्राबिधिक दिजैराज भट्ट र अहिलेका मेयर नृपबहादुर वडको पनि हस्ताक्षर छ। 

धनगढीको ६ लेन पश्चिममा रहेको राजपुर, बोराडाँडी र विशालनगर क्षेत्रको पानी जम्मा हुने नेतुवा ताल बिक्री भएपछि डुबानको समस्या झनै बढेको थियो। ‘नेतुवा ताल संरक्षण गर्न सकेको भए विशालनगरमा डुबानको समस्या बिकराल हुने थिएन्,’ स्थानीय यमनाथ सिग्देलले भने। अहिले संरक्षणका लागि प्रयास भइरहेको बताउँदै उनले नेतुवाको विकास र संरक्षण भए विशालनगरवासीलाई निकै फाइदा हुने बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस