बैतडीमा खेतमा पानी लगाउँदा भालुको आक्रमण, एकजना घाइते
बैतडीः बैतडीमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। प्रहरीका अनुसार पञ्चेश्वर गाउँपालिका ५ रन्तोलीका ६२ बर्षीय उजीतराम कोली सोमबार घाइते भएका हुन्।
घर नजिकैको खेतमा पानी लगाउने क्रममा कोलीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।
भालुको आक्रमणबाट घाइते कोलीको टाउको गम्भीर चोट लागेको बताइएको छ। घाइते कोलीको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
यसअघि आइतबार मात्रै जंगली बँदेलको आक्रमणमा परी बैतडीको सुर्नया ४ का राम लुहार घाइते भएका थिए। आफ्नो बारीमा कामका लागि जाने बेला लुहारलाई बँदेलले आक्रमण गरेको थियो।