सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विप्लव समूहको नाममा चन्दा आतंक

२०७८ साउन २४, ०९:४० खबर संवाददाता

धनगढी: बैतडीमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नाममा चन्दा असुली हुन थालेको छ।

जिल्लाको सिगास गाउँपालिकामा विप्लवको कार्यकर्ता हु भन्दै धम्क्याएर रकम असुली भइरहेको हो। आज (आइतबार) नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ता हु भन्दै ८० हजार रकम माग गरेको सिगास ९ का स्थानीय गंगासिंह धामीले दिनेशखबरलाई जानकारी दिए। धामी नेपाली कांग्रेसका क्रियाशिल सदस्य हुन्।

उनले भने,'३-४ जनाको समुह आएर पार्टी चलाउन चन्दा उठाउन आएको भन्दै धम्क्याए। ८० हजारको डिमान्ड गरे। पैसा नदिए ठिक नहोला भन्दै धम्की दिए। मैंले ८० हजार नसक्ने भन्दै २० हजार दिए।' २० हजारको रसिद कटाएर १० हजार नगद लगेको र १० हजार केहीदिनमा बुझाउने शर्तमा उनीहरुले जबर्जस्ती सहमति गराएर आफुलाइ छोडेको गएको गंगासिंहले बताए।

यस्तै सिगास ९ का निर्वाचित वडा सदस्य कुष्णसिंह धामीले पनि आफुसँग रकम माग गरेको बताए। धामीले भने,' मैंले एक करोडको खानेपानी योजनाको काम गरेको थिए। त्यस योजनाको कुल बजेट एक करोडको २ प्रतिशत रकम दिनुस भने। तर मैले रकम दिएको छैन।'

विप्लवका नाममा सताउँने गरेको स्थानीयको गुनासो छ। राजेन्द्र बिक नाम गरेका व्यक्तिले रकम माग गरेको गंगासिंह धामीले बतए।

यता, जिल्ला प्रहरी कार्यालय बैतडीले भने सो कुराको जानकारी आएको बताउदै भोली प्रहरी टोली खटाएर बुझ्न लगाउने जनाएको छ। यस्तै विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अग्नीले चन्दा असुली गरिरहेका व्यक्ति आफ्नो पार्टीमा आवद्ध भए नभएको बारे बुझ्ने बताए।

कमेन्ट लोड गर्नुस