सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

२०७८ साउन २४, ०८:२७ खबर संवाददाता

बैतडी: जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्।  

महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका रामको घर बिदामा आएका बेला जंगली बँदेल आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक  बोधराज ओझाले जानकारी दिए। आइतबार बिहान  साढे ८ बजे घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई  बँदेलले आक्रमण गरेको हो।  

प्रहरी निरीक्षक ओझाले भने,‘ आक्रमणबाट रामको हात र खुट्टामा चोट रहेको छ , जिल्ला अस्पतालमा  सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ। ’आक्रमणबाट घाइते भएका रामको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।  
केही वर्षयता बैतडीमा  जंगली बँदेलले आतंक मच्चाउने गरेका छन्।  बँदेलले मकैबाली नष्ट गर्नुका साथै मानिसहरुलाई समेत आक्रमण गर्न थालेपछि समस्या भएको छ।

 यसअघि यही साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर बैतडीको सुर्नया गाउँपालिका ५ का दुई युवकको मृत्यु समेत भएको थियो। 
 

कमेन्ट लोड गर्नुस