सुदूरपश्चिमका विद्यालयले एसईईमा किन अस्वाभाविक नम्बर दिए ?
धनगढी: २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन भएको छ। तर विद्यालयहरुले भने गत वर्ष जस्तै विद्यार्थीहरुलाई अस्वाभाविक नम्बर दिएका छन्।
विशेषगरी कैलाली र कञ्चनपुरको शहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएको पाइएको छ। विद्यालयमा विषय शिक्षकले दिएको नम्बर पाँच सदस्यीय समितिले छानविन गरेर शिक्षा इकाईमा र इकाइले बोर्डमा प्राप्तांक पठाउने प्रावधान राखिएको भएपनि ४ जिपिए दिनुपर्ने कारण भने खुलाउनुपर्ने तोकिएको छ। तर विद्यालयहरुले दिएको ग्रेडलाई शिक्षा इकाइले तलमाथि गर्न नसक्ने बताइएको छ।
कोभिड महामारीका कारण गत वर्ष झै यो वर्षपनि विद्यार्थीको सिकाई उपलब्धी मापन गर्न विद्यालयले आन्तरिक मुल्यांकन गरेर पठाएको ग्रेडलाई नै राष्ट्रिय परीक्षा बोर्डमा पठाएको शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले बताए।
‘विद्यालयका विषय शिक्षकले दिएको ग्रेडबारे विद्यालयले नै छानविन गर्नुपर्ने भएकोले हामीले स्पष्टिकरण सहित आएको गे्रडलाई बोर्डमा पठाइएको हो’ उनले भने, ‘विद्यालयका विषय शिक्षकले दिएको ग्रेड विद्यालयमा रहेको समितिले नै परीक्षण गरेर पठाएका थिए। हामीले त्यही माथि पठाएका हौँ।’
विद्यालयहरुले आफूखुसी ग्रेड दिने प्रवृत्तिलाई नियन्त्रण गर्न राष्ट्रिय परीक्षा बोर्डले यसपटक कार्यविधिमा कडाइ गरेको भएपनि विद्यालयहरुले भने विद्यार्थीका क्षमताको वास्तविक मापन गर्न भन्दा नतिजा राम्रो आओस् भन्ने हिसाबले ग्रेड बढाएर पठाएको आशंका गरिएको छ।
बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो। सोही कार्यविधिअनुसार विद्यालयले कारण खुलाएर विद्यालयहरुले दिएको प्राप्तांक सदर भएको बताइएको छ। शिक्षा निर्देशनालय दीपायलका निर्देशक गणेशबहादुर सिंहले विद्यालयले पठाएको अंक अस्वाभाविक भएपनि बोर्डले घटाउन सक्ने व्यवस्था नरहेको हुँदा समस्या भएको बताए।
एसईईको गे्रड दिने सर्वाधिकार विद्यालयलाई नै दिइएको छ। शिक्षा विकास तथा समन्वय इकाइले केही सुधार गर्न सक्थ्यो। तर त्यसमा पनि विद्यालयले कारण खुलाइदिए केही गर्न सकिदैन। त्यसैले विद्यालयहरूले पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको अधिकारीहरुले बताएका छन्।