दार्चुलाका व्याँसी बेसी झरे (फोटो फिचर)
गत बैशाखमा व्याँसको तिंकर उक्लिएका व्यास गाउँपालिका १ तिंकरका व्यासी सौका सुमदाय पुनः आफ्ना लालाबालासहित सदरमुकाम अर्थात बेसी झरेका छन् । बैशाखमा खलंगाको गर्मी छल्न तिंकर पुगेका सौका समुदाय तिंकरमा हिमपात भएपछि चिसो छल्न खलंगा झरेका हुन् । व्याँस गाउँपालिका १ छांगरु र तिंकरका समुदाय हरेक वर्ष छ महिना सदरमुकाम खलंगा र छ महिना व्याँसको तिंकर र छांगरु गाउँ कुञ्चा सर्ने गर्छन् । कुञ्चालाई सौका समुदायको भाषामा बसाईसराई गर्नु भनिन्छ ।
तिंकरका ६५ घरधुरीमध्ये आधाबढि स्थानीय खलंगा पुगेका छन् । छ दिनको हिडाईपछि उनीहरु खलंगा पुगेका हुन् । समुद्री सतहबाट १२ हजार फिट उचाईमा बसोबास रहेका तिंकरबासीले बालबालिका, पशुचौपाया, घोडा खच्चड, चौरी झुपु गाईगोरुसहित खलंगा झरेका छन् । आफ्नै भूमि जान विदेशी भूमि प्रयोग गर्ने व्यासीहरु यस पटक निकै कष्टकर यात्रा भएको सुनाउँछन् । एसियाका दुई ठूला देश चीन र भारतको सीमा क्षेत्रमा बसोबास रहेका व्यासीहरु आफ्नो भूमी भएर आउजाउ गर्न नपाएकोमा निराश छन्, एक जना स्थानीय पार्वती तिंकरी । उनी भन्छिन्– ‘नेपालबाटै गाउँसम्म पुग्ने बाटो छैन्, विदेशी भुमी भएर आउजाउ गर्नुपर्दा भारतीयबाट हेपिनु परेको छ ।’ भारत हुदै लामो र झन्झटिलो यात्रा भएर खलंगा झरेको तिंकरीले सुनाईन् । गाउँमा दुई पटक हिमपात भएर चिसो बढेसंगै घोडा, खच्चर, झुपहरुसहित आफुहरु भारतीय बाटोको प्रयोग गरेर छ दिनमा खलंगा पुगेको स्थानीय राधिका तिंकरीले बताईन् । व्याँस गाउँपालिकाले तिकंरसम्म पुग्ने बाटो मर्मत एवं पुननिर्माण गर्न बर्षेनी लाखौ बजेट बिनियोजन गरेपनि अहिलेसम्म बाटो निर्माण हुन सकेको छैन् ।
पञ्चायत कालसम्म नेपालकै बाटो भएर कुञ्चा सरेपनि पछिल्लो समय भारतको बाटो भएर कुञ्चा सर्नु बाध्यता भएको छ, ६१ बर्षिय पुरनसिह तिकंरीले भने– ‘व्यासबासीसंग नेपाली हुनुको नेपाली नागरिकता मात्रै छ, अरु सबै सेवा सुविधा भारत र तिब्बतको लिनु परेको छ ।’ ५० वर्षीया पुष्पा बुढाथोकीलाई यस पटकको जस्तो कुञ्चा सर्दाको दुख कहिल्यै भोग्नुपरेको थिएन् । तिंकर गाउँबाट हिडेदेखि भारतीय बाटो हुँदै छैटो दिनमा सदरमुकाम खलंगा पुगेका बुढाथोकीले सास्ती भोग्नुपरेको पीडा सडकमै सुनाउन भ्याईन् । ‘हामी नेपाली हौ कि होइनौ, भन्ने महशुस यस पटकको बसाई सराई (कुञ्चा) ले देखायो । नेपाल सरकार छ कि छैन् ? पटक पटक नेपालतिरको बाटो निर्माण हुँदैछ, कुञ्चा सर्नसम्म बाटो बन्छ भन्ने सुन्यौ तर अहिले आएर पूरै भारतीय बाटो भएर आउनुपर्यो ।’ धारचुला पुगेपछि अढाई घण्टा बिहान रोकेको पीडा सुनाउँदै भनिन्– बाटोको भन्दा बढी पिडा धारचुलामै दिईयो ।
तिंकरबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचौ दिन एलागाड हुँदै छैटौ दिनमा सदरमुका खलंगा पुगेका हुन् । पञ्चायती कालमा नेपालतिर घोरटो बाटो राम्रै थियो । व्यापार कैलाश मानसरोवर धार्मिक यात्रा नेपालकै बाटो हुने गरेको थियो आशा तिंकरीले बताईन् । त्यो बाटो झण्डै ०५९÷६० सालसम्म सञ्चालन रह्यो । त्यसयता गोरेटो बाटो मर्मतको नाममा बर्षेनी हरेक निकायबाट लाखौ रकम गयो तर हिड्नलाई समेत बाटो बनेन् । स्थानीय सरकार गठन भएपनि व्यासका स्थानीयको लागि बाटो समेत बनाउन नसक्दा उनीहरु सरकार प्रति आक्रोसित छन् । व्यासको तिंकरमा रहेक ६५ घरधुरीमध्ये ४०÷४५ घरधुरीको कुञ्चा सदरमुकाम पुगेको छ । यस्तै तिंकरका बाकी घरधुरी तथा छांगरुका एक सय बढि घरधुरीको कुञ्चा बाटोमा छ । व्यासको छांगरु र तिंकरमा हिमपातपछि चिसोबढेको कारण बसाई सराई गर्नुपरेको हो ।
स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फापर, पल्ती र आलु प्रमुख खाद्य बालीको रुपमा लगाउने गर्छन् । यहाँका स्थानीय कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशुहरु, खाने राशन, कपडा र भाडाकुडा सहित आउने गर्छन् । मंसीरमा सदरमुकाम झर्ने व्यासीहरु बैशाखमा पुन खेतीपाती भित्र्याउन व्यास उक्लने गर्छन् । यहाँका नागरिकको मुख्य पेशा व्यापार हो । व्यासको छांगरु र तिंकरमा मात्रै झण्डै एक हजार बढि जनसंख्याको बसोबास रहेको व्यासी सौका समाजका अध्यक्ष एसोदा तिंकरीले बताईन् । परापूर्वकालदेखि नै व्यासीहरुको दोहोरो बसाई हुँदै आएको छ । उनीहरुको घर जग्गा जमिन सदरमुकाम खलंगामासमेत छ । उनीहरुले व्यासको छांगरु तिंकर जस्तै खलंगामा तिंकर छांगरुको बसाई छुट्टाछुट्टै बसालेका छन् ।
व्यासका अधिकांश स्थानीय भारत र तिब्बतमा व्यापार गर्छन् । विगतमा तिब्बतको भेडा च्यांग्रा मालसमान खलंगा बिक्रीको लागि नेपालकै बाटो भएर आउथ्यो, स्थानीय नगेन्द्र तिंकरीले भने– अहिले बाटो घाटो सुधार नहुँदा नेपालतिरको बाटो समस्या भएको छ । गत वर्ष व्यास गाउँपालिकाले बाटो मर्मतको लागि भन्दै २५ लाख रुपैयाँको टेण्डर खोलेको हो, व्यास गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष एवं प्रवक्ता धिरनसिह बुढाथोकीले भने– निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले राम्रो काम नगर्दा नौ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ । यस वर्ष पनि गत वर्षकै बजेबाट बाटो मर्मत कार्य चलिरहेको बुढाथोकीले बताउनुभयो । कुञ्चा सर्ने बेलासम्म बाटो बनाउने भनिएको हो तर पूरै काम हुन सकेन्, । स्थानीय सरकारले तिंकरसम्मै घोरटो बाटो निर्माणको लागि पहल गरिराखेको उनको भनाई छ ।