सुदूर नेपाललाई विश्वसँग जोड्दै

बार्सिलोनाबाट बिदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै

२०७८ साउन २४, ०६:२५

म्याड्रिड: बार्सिलोनाबाट बिदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन्। क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट बिदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ। 

बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, “चौतीस वर्षीय मेसीले मध्याह्न हुने प्रेस सम्मेलनमा उहाँको बार्सिलोनासँगको सहकार्र्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनुहुनेछ। उहाँको क्लबबाट विदाइ घोषणा भएदेखि यी उहाँका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन्।” 

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेसीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन्।

बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताएका छन्। अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ। 

सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ। मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ। -एएफपी

कमेन्ट लोड गर्नुस