बैतडीमा मृत भेटिएकी खेट्टीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो
बैतडीः बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृत फेला परेकी खेट्टी मल्लको भेजाइनल स्वाब र भिसेरा परीक्षण लागि काठमाडौं पठाइएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी मल्ल साउन ८ मा मृत फेला परेकी थिइन्।
उनको मृत्युको कारण पुष्टि गर्न भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ।
भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको भएपनि रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले बताए।
साउन ७ गते घरबाट माइतीघर मेलौली–५ सेरी हिँडेकी उनी मृत भेटिएकी थिइन्। तर‚ माइतीघर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन्। मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन्।