सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दिदीबहिनी ताल व्यक्तिको कब्जामा

२०७८ साउन २३, १०:०७ नारायण अवस्थी

धनगढी : सयौं प्राकृतिक ताल तथा पोखरी रहेको धनगढी उपमहानगरपालिकामा ताल, खोलानाला तथा सार्वजनिक जग्गाको अतिक्रमण रोकिएको छैन। धनगढीमा मानववस्ती बढेसँगै यहाँको सार्वजनिक जग्गा, ताल तलैया र खोलानालाको अतिक्रमण पनि बढेको हो। 

धनगढीको १ नम्बरदेखि ५ नम्बर वडामा रहेको ९ सय ३१ विघा सार्वजनिक जग्गा धनगढी नगर विकास समितिले बिक्री गरेकोमा अन्य वडाको सार्वजनिक जग्गा तथा ताल तलैयामा पनि अतिक्रमण भएको पाइएको छ। १५ वटा ताल रहेको धनगढीको वडा नम्बर ६ मा  तीन वटा ताल अतिक्रमण गरिँदा अस्तित्व नै नरहेको पाइएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को बिजुलीयामा रहेको दिदीबहिनी ताल अतिक्रमण गरि धान खेतमा परिणत गरिएको छ। २५ विघामा फैलिएको ताल अतिक्रमण गरेर खेतमा परिणत गरिएको स्थानीय चुरियादेवी चौधरीले बताइन्।

‘पहिले तालमा पानी थियो। कमलको फूल फुल्थे। हामी घोगी, माछा र तरकारी टिप्न जाने गर्दथ्यौँ। ताल पुरेर खेत बनाएको पनि धेरै वर्ष भइसक्यो,’ उनले भनिन्। यस्तै स्थानीय बुधराम चौधरी पनि बिजुलीयामा दुई वटा ताल रहेको तर अहिले ताल क्षेत्र खेतमा परिणत भएको बताए।

‘दुई वटा ताल सँगै थियो। त्यसैले दिदिबहिनी नाम राखिएको होला,’ उनले भने, ‘म त निकै सानो थिए। उहिल्यै ताल पुरेर खेत बनाइएको हो।’ वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीे पनि बिजुलीयामा दुई वटा ताल भएकोले दिदीबहिनी नाम रहेको बताउँछन्। तर अहिले ताल क्षेत्र खेतमा परिणत भएको पनि निकै वर्ष भएकोले नक्शामा भने ताल क्षेत्र छ वा छैन थाहा नभएको उनको भनाइ छ। 

तर विगतमा भने दिदीबहिनी तालको जम्मा भएको पानीबाट जाली क्षेत्रमा सिँचाई गर्न प्रयोग हुने गरेको उनी स्मरण गर्छन। धनगढी नगर विकास समिति तथा धनगढी उपमहानगरपालिकाको उदासिनताले गर्दा उपमहानगरभित्रको सार्वजनिक जग्गा, ताल तलैया तथा खोलानालको जग्गा निरन्तर व्यक्तिहरुको कब्जामा जाने क्रम रोकिएको छैन।

सार्वजनिक जग्गाको अभावमा नगरको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय समेत बनाउन नसकेको उपमहानगरले नगरमा रहेको सरकारी जग्गा ताल, पोखरी, तथा खोलानालाको संरक्षण गर्न नसकेको हो। तर धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड भने सार्वजनिक जग्गा खाली गराउने दाबी गर्दै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस