दार्चुला युवक बेपत्ता प्रकरणका प्रत्यक्षदर्शीलाई प्रहरीको सहयोगमा गाउँ पठाइयो
दार्चुला: जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पुर्याएको छ।
यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याएको हो। खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो। बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो।
बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएन। प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो। प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो।
बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो। प्रत्यक्षदर्शीसँग दुईजना प्रहरी पठाइएको छ।