बैतडीमा मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका २ जना जेल चलान
धनगढी: बैतडीमा मन्दिरको सुन चोरी प्रकरणमा पक्राउ परेका ७ जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ भने पाँच जना धरौटीमा छुटेका छन्।
जिल्ला अदालत बैतडीका न्यायधीश तीलकबहादुर कार्कीको एकल इजलासले दुई जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मन्दिरबाट सुन चोरीमा संलग्न दोगडाकेदार गाउँपालिका -१ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।
चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी दशरथचन्द नगरपालिका -४ गढीका कञ्चन पौडेल, गणेश पौडेल र दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु जनही ५० हजार रपैयाँ धरौटीमा रिहा भएका उनले बताए। यस्तै दोगडाकेदार गाउँपालिका -१ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका -१ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा ९ तोला सुन चोरी भएको थियो। प्रहरीले पौने चार तोला सुनसहित ७ जनालाई नियन्त्रणमा लिएको छ भने उनीहरुको साथबाट पौने चार तोला सुनसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पाटनका अनुसार अनुसन्धान सकेर पक्राउ परेकाहरुलाई अदालतमा पेश गरिएको हो।