सुदूरपश्चिममा चलायमान भइरहेको आन्तरिक पर्यटनमा ट्राफिक प्रहरीको अवरोध !
धनगढीः कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ का हिमाल साउँद साथीहरुसहित डोटीको बुडर क्षेत्रमा पर्ने छहरा झर्ना अवलोकनका लागि गए।
१४ जनाको समूहमा गएका उनीहरुसँग ७ मोटरसाइकल थिए। गौरीगंगादेखि अत्तरियासम्म तीन ठाउँमा ट्राफिक प्रहरी थिए। अत्तरियादेखि बुडरसम्म ४ ठाउँमा थिए। गर्मीमा मनोरञ्जनका लागि पहाड चढेका युवाहरुलाई ट्राफिकको व्यवहारले हैरान बनाएको साउँद बताउछन्।
उनले भने, ‘मसुरियादेखि अत्तरियासम्म तीन ठाउँमा प्रहरी थिए। अत्तरियादेखि बुडरसम्म ४ ठाउँमा। खानीडाडामा मोटरसाइकलहरुको लाइन थियो। पहुँच भएकाहरु लाइसेन्स नभएपनि जाँदै थिए। तर नभएकाहरुलाई रोकिएको थियो। पैसा असुल गर्ने काम हुँदै थियो।’ कोरोना भाइरसको दोस्रो लहरको महामारीपछि अहिले सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटन केही चलायमान देखिएको छ।
कैलाली र कञ्चनपुरका बासिन्दा घुमघामका लागि पहाडी सात जिल्ला पुग्न थालेका छन् भने पहाडका बासिन्दा तराई झर्न थालेका छन्। तर चलायमान बन्न खोजिरहेको आन्तरिक पर्यटनमा ट्राफिक प्रहरीले अवरोध गरिरहेको गुनासो बढेको हो। पर्यटकीय क्षेत्रमै ठाउँठाउँमा चेकजाचको नाममा सास्ती बढाइएको आरोप लाग्न थालेको छ।
तराइबाट गर्मी छल्नका लागि सुदूरपहाड चढ्ने आन्तरिक पर्यटकलाई ट्राफिक प्रहरीले चेकजाँचका नाममा दुख दिन थालेको हो। पर्यटकीय क्षेत्रसम्म मोटरसाइकलमा जाने आन्तरिक पर्यटकलाई चोर–फटाहाको जस्तो व्यवहार ट्राफिक प्रहरीले गर्दै आएको गुनासो उनीहरुको छ।
आन्तरिक पर्यटकलाई बाटोबाटोमा हैरान गर्ने गरेको होटल व्यवसायीसमेत बताउछन्। सहजपुरका होटल व्यवसायी दीपकबहादुर शाहले ट्राफिकले बाटोबाटोमा हैरान गर्ने गरेको बताए। उनले खानीडाँडा लगायतका ठाउँमा नियमित चेकजाँच हुने भएपनि बाटोबाटोमा समेत ट्राफिक हुँदा पर्यटक हैरान भएको बताए। ‘पर्यटकीय क्षेत्रमा ट्राफिक प्रहरीको चेकजाँचको कुनै औचित्य छैन। यहाँ पर्यटक रमाउनका लागि आउने हुन्। चेकजाँचले रमाउन पाइरहेका छैनन्,’ उनले भने।
पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम हुने भन्दै सवारी चेकजाँचलाई कडाई गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको दाबी छ। एक मोटरसाइकलमा तीन जनासमेत सवार हुने, लाइसेन्सबीना मोटरसाइकल चलाउने गरेकाले चेकजाँचमा कडाई गरिएको प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए। उनले भने, ‘पहाडी क्षेत्र हो। दुर्घटनाको जोखिम हुन्छ। लाइसेन्स नभएकाहरुलाई रोक्दै आएका छौँ। भएकालाई केहि गरेका छैनौ,’ उनले भने।