सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा भएको ६ करोडको चोरीमा संग्लन गिरोह धनगढीबाट पक्राउ

२०७८ साउन २०, ०६:४४ नारायण अवस्थी

धनगढी: बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ घर भएका गोरख खातीको बैंकमा पटकपटक भारतमा रहेका आफन्तले लाखौँ नगद जम्मा गरेका छन्। पछिल्लो समय भारतको बैंग्लोरमा गत जेठमा भएको चोरी तथा त्यो चोरीमा उनकै आफन्त संग्लन पनि देखिएका छन्।

बझाङकै अर्जुन खाती, नबिन बाँनिया, सुरेन्द्र अधिकारी र उमेश धामीलाई बैंग्लोरमा भएको चोरीमा संलग्न भएको आरोपमा कैलाली प्रहरीले गत आसार २८ गते धनगढीबाट पक्राउ गरेको थियो। प्रहरीले धनगढीकै एकजना सुन व्यवसायीलाई पनि पक्राउ गरेको छ। पटकपटक खातीको बैंकमा चोरीमा संलग्नले नगद पठाएपछि उनी पनि अहिले अनुसन्धानको घेरामा छन्।

खाती भन्छन्, ‘मेरो खातामा रकम जम्मा भएको रकमबारे मलाई नै जानकारी छैन। प्रहरीले अहिले मबाट चोरी भएको रकम फिर्ता मागिरहेको छ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार इन्टरपोलमार्फत नेपाल प्रहरीलाई बैंग्लोरमा ६ करोडको चोरी भएको जानकारी प्राप्त भएको छ।

‘चोरीमा संलग्न भएका व्यक्तिहरुबाट अहिलेसम्म नगद ८५ लाख तथा १ सय २७ ग्राम सुन बरामद गरेर फिर्ता गर्ने तयारीमा छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बिष्टले भने। भारतमा केही बर्ष काम गर्ने, काम गरेकै घर वा पसलमा चोरी गर्ने एउटा समूह, चोरी गरेको जिन्सी र नगद भारतबाट गौरीफन्टा वा गड्डाचौकी नाका भएर नेपाल भित्र्याउने अर्को समूह र नेपालमा पुगाइसकेपछि चोरीको सामान भागबन्डा गर्ने अर्को समूह बनाएर चोरी भइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

तर चोरीको गिरोहमा संग्लनविरुद्ध मुद्धा चलाउने कानुन भने नहुँदा अनुसन्धानमा समस्या भएको बिष्टले बताए। ‘प्रहरीले पक्राउ गर्ने र चोरी भएको रकम बरामद गर्दै उनीहरुलाई छोड्ने गरेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी बिष्टले भने। अधिकासं घटनमा इन्टरपोलमार्फत चोरी भएको जिन्सी र नगद रकममध्ये आधासमेत बरामद गर्न नसकिएको प्रहरीले बताउँदै आएको छ। 

प्रहरीका अनुसार सुदूरपश्चिमको बैतडी, अछाम र डोटी जिल्लामा स्थायी घर भई कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएकाहरुको भारतमा हुने चोरीमा संग्लनता बढी देखिएको छ। इन्टरपोलमार्फत आएको खवरलाई प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि चोरीमा संग्लनहरुको स्थायी ठेगानाका आधारमा निर्देशन दिने गरेको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस