सुदूर नेपाललाई विश्वसँग जोड्दै

तुइन प्रकरणको छानविन गर्न गृह मन्त्रालयको टोली घटनास्थलतर्फ

२०७८ साउन १८, १२:३३ खबर संवाददाता

धनगढीः महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका दार्चुलाको व्याँस गाउँपालिका २का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थल जाने भएको छ। गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न आइतबार मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन टोली गठन गरेको थियो।

उक्त टोली सोमबार दार्चुला जाने भएको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन्।

उक्त टोली सोमबार दिउँसो २ बजेतिर कैलाली आउने र धनगढीदेखि मंगलबार हेलिकप्टरबाट दार्चुला जाने समितिकी सदस्य भट्टले बताइन्। धामी गत साता तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले सो घटनामा भारतीय सीमा सुरक्षा बलको हात रहेको बताएका छन् भने भारतीय प्रशासनले एसएसबीको ै संलग्नता नरहेको भन्दै नेपाललाई पत्राचार गरेको छ।

कमेन्ट लोड गर्नुस