गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग
तनहुँः कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरे। गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजरलगायतका सामग्री सहयोग गरिएको छ।
यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो। दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो।
उक्त संस्थाले गण्डकी प्रदेशका सात अस्पताललाई रु एक करोड २० लाख ९८ हजार ४११ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ।