बैतडीमा आजबाट भेरोसेल खोप लगाइँदै
धनगढी: बैतडीमा आजबाट भेरोसेल खोप लगाइँदै छ। आइतबारबाट ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको हो।
त्यसैगरी विद्यालय तथा कलेजकाका शिक्षक, प्राध्यापक, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई पनि खोप लगाइने छ। जिल्लाका पाटन नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा आज र भोलि खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
यसैगरी १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिका, २० र २१ गते पञ्चेश्वर, शिवनाथ, सुर्नया गाउँपालिका, मेलौली र दशरथचन्द नगरपालिकामा खोप लगाइने बताइएको छ। खोपको पहिलो मात्रा लगाएकालाई २८ दिनभित्र दोस्रो मात्रा दिनुपर्ने भएकाले सो मात्रा मौज्दात राखी खोप लगाइन लागेको जनाइएको छ। स्वास्थ्य कार्यालयका अनुसार बैतडीमा १८ हजार डोज खोप आइसकेको छ।