सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु

२०७८ साउन १७, ०७:२७ रासस

कञ्चनपुर: कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा नापीको कार्य सुरु भएको छ। 

नगरपालिको वडा नम्बर ४ मालुवेलाबाट जग्गा नापी सुरु गरिएको हो। जग्गा नापीका लागि कन्ट्रोल प्वाइन्ट राखेर काम अगाडि बढाइएको छ। भूमि आयोग र कृष्णपुर नगरपालिकाबीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ गते सम्झौता भएको थियो।

सम्झौताबमोजिम नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १५ हजार ३०४ जनाको लगत लिइएको छ। जसमध्ये भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जनाको लगत संकलन गरिएको छ।

यसैगरी बेदकोट नगरपालिकाले समेत साउन २० गतेदेखि अव्यवस्थित बसोवासीको जग्गा नापीको काम अगाडि बढाउने तयारी गरेको छ। शुक्लाफाँटा नगरपालिकामा भने अव्यवस्थित बसोवासी र भूमिहीन दलित, सुकुम्वासीको लगत लिने कार्य पूरा गरी विवरण कम्प्युटरमा प्रबिष्ट गर्ने कार्य निरन्तररूपमा भइरहेको छ। लालझाडी र बेलडाँडी गाउँपालिकाले समेत विवरण कम्प्युटरमा राख्ने कार्यलाई जारी राखेका छन्। 

हालसम्म जिल्लास्थित आयोगले जग्गासम्बन्धीको ४० प्रतिशत कार्य पूरा गरेको छ। कञ्चनपुरमा हालसम्म तीन हजार १५१ जना भूमिहीन दलित र सुकुम्वासीले बसोबासका लागि फाराम भरेका छन्। यसैगरी ४९ हजार २४ अव्यवस्थित बसोवासी र आयोगको जिल्लास्थित कार्यालयबाट ६ हजार ४१७ जना जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन्।

कमेन्ट लोड गर्नुस