सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमै पहिलो पटक दनुवार सांस्कृतिक महोत्सव हुँदै

२०७५ मंसिर २, ०३:२७

सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुनेभएको छ। मङ्सिर ३ गते नगरपालिका–६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको होे। दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले बताए। दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी)को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको उनले बताए। महोत्सवमा बड्की नाच, दनुवार संस्कृतिको घरलगायत दनुवार समुदायसँग सम्बन्धित अन्य नाच तथा भौतिक संरचना देखाइने छ। 
कार्यक्रममा देशभरिबाट स्थानीय, प्रदेश, सङ्घीय तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दनुवार समुदायका व्यक्तित्वलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ। नेपालमा सबैभन्दा बढी दनुवार समुदायको बसोबास रहेको सिन्धुली जिल्ला र त्यसमा पनि कमला खोँज क्षेत्र रहेकाले यस क्षेत्रमा निकट भविष्यमै दनुवार सङ्ग्रहालय बनाउने योजना रहेको पनि आयोजकले बताएको छ। महोत्वसमा दनुवार समुदायले दैनिकजसो प्रयोग गर्ने माछाको परिकार, घुँगी, बयिया रोटी लगायतका परिकार दनुवार संस्कृति अनुसार बनेका घरभित्र बसेर खाने व्यवस्था महोत्वसमा गरिने पनि आयोजकले जनाएको छ।
रासस
 
 

कमेन्ट लोड गर्नुस