सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बीच्च बीच्चमा’ गाउने दुर्गेशलाई बहिष्कार गर्ने तयारीमा दोहोरीगीत प्रतिष्ठान

२०७८ साउन १५, ०२:०४ खबर संवाददाता

धनगढीः गायक दुर्गेश थापाको गीत ‘बीच्च बीच्चमा ४’लाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ। सो गीतले तीजको मर्ममाथि प्रहार गरेको गुनासो धेरैको छ। स्रोता–दर्शकहरुले पनि यस्ता गीतले तीजको संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गर्छन। सामाजिक सञ्जालमा दुर्गेशको यो गीतमाथि प्रतिवन्ध लगाउनुपर्ने माग समेत गरिएको छ।

यता दोहोरीगीत प्रतिष्ठानले भने थापालाई बहिष्कार गर्ने तयारी गरेको छ। प्रतिष्ठान स्रोतका अनुसार सोही गीतको विषयलाई लिएर आइतबार प्रतिष्ठान केन्द्रीय कमिटीको बैठक समेत डाकिएको छ।

‘हामीले उहाँलाई  पहिला नै पत्र काटेरै ध्यानाकर्षण गराएका थियौं। तर उहाँले, प्रतिष्ठानको केही मतलब छैन। म आफ्नो तरिकाले अगाडि बढ्ने हो भन्ने खालको जवाफ दिनुभयो’ प्रतिष्ठानका एक पदाधिकारीले भने, ‘आइतबारको बैठकमा हामी उहाँलाई संस्थागत रुपमा संस्थाका कुनै पनि कार्यक्रममा समावेश नगर्ने, आजीवन साधारण सदस्य पनि नरहने गरेर बहिष्कार गर्ने निर्णय गर्दैछौं।’ प्रतिष्ठानका पदाधिकारीहरु राज्यले नै खुला छोडिदिएको हुनाले आफूहरुले नियन्त्रण गर्न नसक्ने धारणा राख्छन्।

सरकारी तवरबाटै यस्ता गीत ल्याउनेलाई कारवाही हुनुपर्ने प्रतिष्ठानको धारणा छ।
 

कमेन्ट लोड गर्नुस