सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकृतिको वरदान लिङ्गा

२०७५ कार्तिक ३०, ०३:३१ जनक विष्ट

पूर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको दैजी बजारबाट करिब ८ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको एक मनमोहक दृष्यले हरेकको ध्यान तान्छ। बिचमा बगुन खोला, चारैतिर हरियाली अनी सुनसान वातावरण, बगुन खोला छेउमै रहेको लिङ्गा। जुन क्षेत्र पछिल्लो समय लिङ्गा क्षेत्रको नामले परिचित छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत दैजी बजारबाट ८ किलोमिटर उत्तर, चुरे पहाडको फेदमा झण्डै ४/५ सय मिटरमा फैलिएको लिङ्गाको मनमोहक दृष्यले हरेकको मन लोभ्याउछ। केही वर्ष अघि सम्म खासै चर्चामा नआएको लिङ्गा क्षेत्र, पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्न सफल भएको छ।

सिद्धशिव लिङ्गेश्वर धाम नाम दिएर स्थानीयले वषौँ पहिले संरक्षण गरेको लिङ्गा क्षेत्रमा अहिले दैनिक जसो सयौँको संख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्। लिङ्गाको वनावटले मात्रै पर्यटकको ध्यान तानेको छैन् की लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकांक्षा पनि पूरा हुने धार्मिक विश्वासका आधारमा पनि धेरै व्यक्ति शिव लिङ्गेश्वर धाममा पुग्ने गरेका छन्। सुरुका दिनमा प्रचार प्रसारको अभावले खासै नचिनिएको लिङ्गा क्षेत्र धार्मिक पर्यटकीय स्थलका रुपमा विकसीत हुन थालेको धेरै समय भईसकेको छैन्।

सुरुका दिनमा बाटोघाटो अभावमा पर्यटकले लिङ्गा सम्म पुग्न सक्ने अवस्था पनि थिएन भने अहिले स्थानीय सरकार, वेदकोट नगरपालिकाले सडक मर्मत सम्भार गरेको छ भने लिङ्गा क्षेत्रको संरक्षण गर्दै भौतिक संरचना निर्माणको कामलाई पनि अगाडी बढाएको छ। सिद्धशिव लिङ्गा धामका पुजारी तारादत्त जोशीका अनुसार धाममा समान्य समयको भन्दा शुक्रबार र शनिबारको दिन पर्यटकको बढि भीड हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा लगायत नौ वटै जिल्ला सहित देशभरबाट पर्यटक आउने गरेको उनले बताए। छिमेकी मुलुक भारतबाट समेत पर्यटक लिङ्गा क्षेत्रमा आउने गरेका छन्।

लिङ्गा क्षेत्रको उत्पत्तीका बारेमा खासै अध्ययन अनुसन्धान नभएतापनि प्रकृतिको वरादनका रुपमा लिने गरिएको छ। पूजारी तारादत्त जोशी प्रकृति उत्पत्ति भएकै बेला भूमी भित्र लिङ्ग रहेको विश्वास व्यक्त गर्छन्। तत्कालीन दैजी गाविसमा २०१८ सालमा वस्ती विस्तार भएपछि पानीको मुहान खोज्ने क्रममा त्यहाँ लिङ्गेश्वर बाबाको बास छ भन्ने कुरा पत्ता लागेको किवंदन्ती छ। पुजारी जोशीका अनुसार चुरे हुदै अहिलेको लिङ्गेश्वर धाम भएर बग्ने नदीबाट स्थानीयले सिचाई र उपभोगका लागि नहर निर्माण गरेर गाँउ सम्म पानी पु¥याएको सुनाए। नहर निर्माण गरेरै गाँउमा पानी लगेपनि पानी एकाएक हराउन पुगेको थियो।

गाउँका एकजना अगुवालाई राति सो क्षेत्रमा देवताको बास छ भन्ने कुरा सपनामा प्रकट हुन पुग्यो। सो क्षेत्रमा ठुलै शक्तिपिठ रहेको कुरा समेत सपनामा प्रकट भएको र सपनामै भगवानले सामूहिक पुजा गरे मात्रै पानी उपभोग गर्न मिल्ने कुरा भने। भोलीपल्ट गाँउलेहरुले सामूहिक पूजा गरेपछि पानी सुचारु भएको जोशी बताउछन्। त्यसपछि स्थानीयले वैजनाथ देवताको पुजा हुने समयमा वर्षमा एक पटक लिङ्गा क्षेत्रमा गएर पुजा गर्न थालेका हुन्। स्थानीयले त्यही समयमा चन्दा संकलन गरेर सो क्षेत्रमा मन्दिर स्थापना गरेर संरक्षण थालेका हुन्।

शिव भगवानको बास रहेको विश्वासमा स्थानीयले संरक्षण गरेको लिङ्गा क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण छ। अहिलेको वेदकोट नगरपालिका वडा नम्बर ४ मा पर्ने लिङ्गा क्षेत्रको संरक्षण सम्बद्र्धनमा स्थानीय सरकार जुटेको छ। लिङ्गा क्षेत्रको संरक्षण सम्बद्र्धन गर्दै पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना, सडक निर्माण तथा मर्मत सम्भारका लागि वजेट विनीयोजन गरेरै काम थालेको वेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिह बताउछन्।

वेदकोट नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल मध्ये छुट्टै विशेषता बोकेको लिङ्गेश्वर धामको विकासका लागि नगरपालिकाको विशेष योजना रहेको वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द बताउछन्।

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस