सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यासीहरुको पीडाः नेपाली हुनु नागरिकता पाउनु मात्रै हो र ?

२०७५ कार्तिक २९, ०३:४० नरेन्द्र कार्की

व्यास गाउँपालिका १ तिंकरका यशोदा तिंकरी गाउँकै अगुवा महिला हुन् । उनी अहिले व्यासी सौका समुदायको उत्थानको लागि क्रियासिल गैरसरकारी संस्था व्यासी सौका समाजकी प्रथम महिला अध्यक्ष हुन् । दार्चुलाको चार ठाउँ छांगरु, तिंकर, राप्ला र सितोलामा मात्रै बसोबास रहेका थोरै संख्याका व्यासी सौका समुदायबाट पूरे गैह्सरकारी संघ संस्था चलाउन चानचुने मानिदैन् । उक्त संस्थाका कार्यक्रम संयोजक पनि संयोगले शुरुवाती देखि नै महिला छन् । व्यासको छांगरु र तिंकरमा मात्रै झण्डै एक हजार बढी जनसंख्याको बसोबास छ । तीनै अगुवा महिला अहिले जिल्लाका हरेक कार्यक्रममा पुगेर भन्छन्– हामी नेपाली हुनु नागरिकता पाउनुले मात्रै पूरा भएको हो र ? के साच्चै व्यासी सौका समुदाय खासमा व्यास गाउँपालिकाको छांगरु र तिंकरमा बस्ने सीमाका रक्षकले नेपाली नागरिक भए बापत के पायौ त ? उनको भनाई छ । सरकारको दृष्टि हाम्रो गाउँमा पुगेको छैन् । दुई छिमेकी ठूला राष्ट्रको सीमामा हामी बसेका छौ । चीन र भारतको बीचमा बसेर नेपाली भएकोमा गर्व गरेका छौ, उनले भनिन्– नेपाली हुनुमा राज्यले व्यासीहरुको लागि के सुविधा दियो ?

उनको भनाई छः नगारिकता मात्रै नेपाली छ । अरु सबै भारत र चीनको उपभोग गर्नुपरेको छ । आफ्नो गाउँ जान र सदरमुकाम आउन बाटो छैन् । २०४९ सालमै व्यास पुग्न नेपालबाटै गोरेटो बाटो थियो । तर अहिले आएर बाटो घाटो छैन् । गाउँ जान र सदरमुकाम खलंगा आउन भारतलाई गुहार माग्नु परेको छ । बाटो नभएपछि व्यासमा खाद्यान्न स्वास्थ्य शिक्षा पुग्ने कुरो कहाँको कुरा । खाद्यान्न सबै भारतीय क्षेत्रबाट ल्याउँछौ । नेपालबाट पाइने सुविधा केही पाएका छैनौ । सीमा वास्तविक नागरिक हामी हौ । सरकारले सुरक्षा निकाय बाह्ै मास राखि नसकेको ठाउँमा हामी बसेका छौ । कालापानी हरेक वर्ष मिचेको हामीलाई थाहाँ छ तर हामीले गर्न सक्ने के छ । अहिले पनि व्यासको स्वास्थ्य चौकी सदरमुकाम खलंगामा छ । व्यासीहरुको बसोबास छांगरु र तिंकरमा छ भने स्वास्थ्य चौकी सदरमुकाम खलंगामा स्थापना गरिएको छ ।

छांगरु र तिंकरको नाममा खुलेका विद्यालय खलंगामै छन् । कैलाशपति निमावि छांगरु र मोती महिला संघ प्रावि तिंकर नामका विद्यालय सदरमुकाममा अवस्थित छ । यहाँका सबै बालबालिका सदरमुकाम खलंगा र भारतीय विद्यालयमा अध्ययन गर्ने गरेको व्यासीहरु बताउँछन् । गाउँमा केटाकेटी विद्यालय जाने छैनन्, अर्का स्थानीय योगेश बोहराले भने– पढ्ने उमेरका र विद्यालय जान सक्ने केटाकेटीहरु खलंगामै बस्छन् । विरामी हुँदा यहाँका स्थानीयले भारतीय एसएसबी सँग औषधी मागेर खानुपर्छ बोहराले भने– स्वास्थ्यकर्मी खलंगामै बस्ने भएपछि स्थानीयले सामान्य पूर्व तयारी औषधी घरमा बोकेर राखेका हुन्छन् । व्यासका स्थानीयलाई घोडा खच्चड चौरी सदरमुकाम ल्याउन आफ्नो भूमिमा बाटो छैन् । व्यास गाउँपालिकाले गत वर्षबाट बजेट विनियोजन गर्दै बाटो निर्माण गरेपनि पूरा हुन सकेको छैन् । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले काम नगर्दा बाटो निर्माण नभएको व्यासी सौका समाजका अध्यक्ष तिंकरीले बताए । यस वर्ष ठेकेदारले लापरवाही पूर्वक बाटो बनाएको रहेछ् त्यो बाटो कुञ्चा नसर्दै भत्किएको छ, उनले भनिन्– भिरालो र जोखिम पूर्ण ठाउँमा बाटो रसीले काठ बाधेर बनाइएको थियो । त्योबाटो भत्कि सकेको छ ।

गत वर्ष कुल २५ लाख रुपैयाँमा टेण्डर भएको बाटो निर्माण व्यवसायीले गुणस्तरहिन काम गरेको कारण ९ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको व्यास गाउँपालिकाका प्रवक्ता धिरनसिह बुढाथोकीले बताए । अहिले सोही बजेट अन्तर्गत रहेर निर्माण व्यवसायीले दुम्लीङदेखि बुदीसम्म घोरेटो बाटो निर्माण गरिरहेका छन् । मंसीर १ गतेभित्र अस्थायी रुपमा व्यासी सौका समुदायको कुञ्चा सार्न मिल्ने गरी बाटो निर्माण भइरहेको बुढाथोकीले बताए । व्यासका छांगरु र तिंककार स्थानीयहरु मंसिर पहिला ेसाताबाट बसाई सराई सर्ने तयारीमा रहेका व्यासमा रहेका बोहराले जानकारी दिए । अहिलेसम्म सदरमुकाम झरेकाहरु सबै भारतीय बाटो भएर गएका छन्, बोहराले भने– पशु चौपाया सहित फर्किदा नेपालतिरको बाटो बन्ने सम्भावना कमै छ ।
 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस