सुदूर नेपाललाई विश्वसँग जोड्दै

निषेधाज्ञा खुकुलोसँगै आशावादी बने पर्यटन व्यवसायी

२०७८ साउन १०, ०७:३७ रासस

चितवन: कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ। कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन्।

गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ। बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन्। होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदूरको अवस्था थप जटिल बनेको छ।

कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन् । जङ्गल सफारीलगायतका केही गतिविधि शुरु भएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताए। दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उहाँको भनाइ छ । कतिपय घुमेर फर्कने गरेका छन्। पर्यटन मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको सङ्ख्या बढ्ने र मजदूर सुरक्षित हुने व्यवसायीको भनाइ छ। 

भट्टराईले भने, “अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए ।” वर्षात्को समय पर्यटनका लागि राम्रो समय मानिँदैन। यो पर्यटनका हिसाबले अफ सिजन हो। दशैँअघिबाट पुनः पर्यटक आउन थाल्दछन्। वर्षात्को समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ। निकुञ्जभित्रका गतिविधि वर्षात्को समयमा सधैँ बन्द गर्ने गरिन्छ। 

सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन्। रेस्टुराँ एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्न आउनेक्रम शुरु भएको छ। सौराहामा १२० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन्। उनले भने, “कोरोना घटेसँगै केही उत्साह थपिएको छ।” आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउछन्।

 

कमेन्ट लोड गर्नुस