सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मन्दिरको सुन चोर्ने पाँचजना पक्राउ

२०७८ साउन ९, ०४:५५

बैतडीः बैतडीमा प्रहरीले एक मन्दिरको सुन चोर्ने पाँच जनालाई ६ महिनापछि पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन चोर्ने पाँच जनालाई पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ। गत पौषमा लटिनाथ मन्दिरको ९ तोला सुन चोरीएको थियो।

उक्त सुन चोर्नेमा दोगडाकेदार १ रीमका २० बर्षीय धनबहादुर कार्की, ३५ बर्षीय केशव सार्की, सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्की रहेका छन्। उनीहरु सबैलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

प्रहरीले उनीहरुबाट पौने चारतोला सुनसमेत बरामद गरेको बताएको छ। यस्तै मन्दिरको सुन चोरेर विक्रि गरेको र उनीहरुबाट सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह (साहु)लाई पनि प्रहरीले पक्राउ गरेको छ। 

सुन चोरी कार्यमा संलग्नहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यो घटनामा अरु पनि संलग्न रहेको बुझिएकाले खोजी कार्य जारी रहेको बताईएको छ। मन्दिरको ९ तोला सुन चोरिएपनि प्रहरीले भने पौने चार तोला मात्रै सुन बरामद गरेको छ। अरु सुनबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

कमेन्ट लोड गर्नुस