सेती अञ्चल अस्पतालको नयाँ भवन निर्माण अलपत्र
संरचना अभावले सेवा प्रवाहमा समस्या
भौतिक संरचना अभावमा सेवा प्रवाहमा समस्या खेपिरहेको सेती अञ्चल अस्पतालको नयाँ भवन निर्माणको काम अलपत्र परेको छ। शहरी विकास तथा भवन निर्माण विभागको शहरी स्वास्थ्य कार्यक्रम अन्र्तगत झण्डै साढे १८ करोडको लागतमा निर्माण हुने दुई तले नयाँ भवनको काम अलपत्र परेको हो। शहरी स्वास्थ्य कार्यक्रम अन्र्तगत निर्माण हुन लागेको सेती अञ्चल अस्पतालको दुईतले भवनको २ वर्ष ६ महिना भित्र काम सक्नेगरी सम्झौता गरेको रविना थेगिम जेभीले एक वर्षको समय त्यतिकै बिताएपछि निर्माण कार्य अलपत्र परेको हो।
नयाँ भवन निर्माण भए भौतिक संरचना अभावमा स्वास्थ्य सेवा प्रवाहमा परेको समस्या केही कम हुने अपेक्षा गरिएको थियो। तर निर्माण व्यवसायीले भवन निर्माणमा ढिलाई गरेपछि अस्पतालले नयाँ भवन पाउन लामो समय सम्म पर्खनुपर्ने देखिएको छ। सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले मातृशिशुका लागि निर्माण हुन लागेको भवनको निर्माण कार्यमा ढिलाई भएको बताए। उनले शहरी विकास मार्फत नै ठेक्का सम्झौता भएकाले अस्पताललाई निर्माणमा भइरहेको ढिलाई बारे जानकारी नभएको बताए। भवन अभावमा स्वास्थ्य सेवा प्रवाहमा समस्या खेप्नुपरेको उनको भनाई छ। दुई वर्ष छ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको रविना ठेगिम जेभीको लापरवाहीका कारण सम्झौताको एक वर्ष पूरा हुदा समेत भवनको जग समेत हालिएको छैन्। निर्माण व्यवसायीले ७ महिना अघि जग हाल्नका लागि सरियाका विम निर्माण स्थलमा राखेपनि त्यसपछि काम अगाडी बढेको छैन्। भवन निर्माण भइरहेको ढिलाईका विषयमा प्रतिक्रिया लिन रविना थेगिम जेभीका सञ्चालक सुनिल थापालाई सम्पर्क गर्ने पटक पटक प्रयास गरिएपनि उनी सम्पर्कमा आएनन्।
सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा प्रदेशभरीबाट विराम उपचारका लागि आउने गरेका छन्। ५० शैया सरकारबाट र ७५ शैया अस्पताल विकास समितिबाट सञ्चालनमा रहेको अस्पतालमा ठाँउ अभाव भएपनि अहिले २ सय ३७ शैया राखेर सेवा दिईरहेको छ। तरपनि एउटै शैयामा दुई दुई जना विरामी राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको छ भने प्रसुती वार्डमा पनि ठाँउ अभावकै कारण एउटै ब्याडमा दुईजना महिलालाई राख्नुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण थालेको दुई तले भवन निर्माण भए सेवा प्रवाहमा केही सहजता हुने अपेक्षा गरिएको उनले बताए। तर निर्माण सुरु भएको एक वर्ष सम्म भवनको जग समेत नहालिएकाले समयमै नयाँ भवन नमिल्ने कुराले निराश बनाएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भने काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई निर्माणलाई तिव्रता दिन पटक पटक ताकेता गर्दै आएको दावी गरेपनि ७/८ महिनादेखी काम ठप्प छ।
तीन दिन पहिले मात्र निर्माण व्यवासायी रविना थेगिम जेभीलाई ताकेता गरिएकोमा तिहार लगतै काम सुरु गर्ने जवाफ आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख सुरेश वाग्लेले केहीदिन पहिले मात्र निर्माण व्यवसायीलाई कामलाई अगाडी बढाउन पत्राचार गरिएको बताए। जवाफमा रविना थेगिम जेभीले तिहार लगतै काम अगाडी बढाउने भनेको वाग्लेले जानकारी दिए। विगतमा संघीय सरकार मातहत रहेको सेती अञ्चल अस्पताल अहिले प्रदेश सरकारको जिम्मा आएको छ। तर भवन निर्माणमा भइरहेको ढिलाई तथा भौतिक संरचना अभावमा स्वास्थ्य सेवा प्रवाहमा भइरहेको जटिलतातर्फ प्रदेश सरकारको ध्यान अझै गएको छैन्।