सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ वर्षदेखि अधुरो धनगढी–राजघाट पुल प्रयोगविहीन हुने खतरा, मोहनाले धार फेर्न थाल्यो

२०७८ साउन ८, ०३:०० रोशन भट्ट

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य सुरु भएको ७ वर्ष पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले मोहना नदीमा पर्ने उक्त पुल निर्माणका लागि ०७१ असार ३१ गते एलाइड एडभेञ्चरसँग ठेक्का सम्झौता गरेको थियो।

तीन वर्षको अवधीमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकोमा ७ वर्ष पूरा हुँदासमेत पुल निर्माणको काम अधुरै रहेको धनगढी उपमहानगरपालिकाका वडा नम्बर ३ का स्थानीय राजबहादुर ऐरले बताए। ‘दशकौं वर्ष पहिलेको यस क्षेत्रका स्थानीयको सपना पूरा हुनसकेको छैन,’ ऐरले भने, ‘निर्माण कम्पनीको चरम लापर्बाहीका कारण पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र छ। ठेकेदारले सुरुवातमा स्थानीयले साथ नदिएको भन्दै आएका थिए। अहिले स्थानीयबाट पनि सहयोग भइरहेको छ। तर काम पूरा भएको छैन्।’

सडक डिभिजन कार्यालय भने काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न उदासिन देखिएको ऐरले बताए। धनगढी र कृष्णपुरका स्थानीयको दैनिकीसँग जोडिएको उक्त पुल निर्माण नहुँदा सास्ती भइरहेको राजघाटका स्थानीय दीपेश घर्तीले बताए। ‘मोहना नदी माथि निर्माणाधिन पुलको काम सम्पन्न भए धनगढी राजघाट १० मिनेटमा आवातजावत गर्न सकिने अवस्था छ,’ उनले भने, ‘तर अहिले भने कृष्णपुर राजघाट लगायतका स्थानीयले गुलरिया, अत्तरिया हुँदै धनगढी आउनु पर्ने बाध्यता छ।’

मोहना नदीमा निर्माणाधिन पुलको काम सम्पन्न नहुँदै सोही पुल प्रयोगविहीन हुने अवस्था सिर्जना भएको छ। नदीले राजघाट तर्फको जमिन कटान गरेपछि पुल भन्दा अगाडीबाट नदी बग्ने सम्भावना बढेको छ। दुई दिन अगाडिको वर्षापछि नदीमा आएको बाढीले कृष्णपुर राजघाट तर्फको जमिन कटान गरेको छ। उक्त भागमा तत्तकाल तटबन्ध नगरे नदी मानव बस्तीमा पस्ने जोखिम रहेको तथा नदी एकातिर र पुल अर्कोतर्फ हुने सम्भावना रहेको स्थानीय राजबहदुर खड्काले बताए।

‘नदीले कटान गर्न सुुरु गरिसकेको छ। केही दिन वर्षा भएपछि नदीले राजघाट तर्फ अझै कटान गर्ने देखिएको छ। बाढीमा ७ मिटर कटान गर्ने वित्तिकै होचो ठाउँ आउछ। उक्त स्थानबाट दुई सय मिटरको दूरीमा मानव बस्ती छ,’ उनले भने। कटानको समस्या समाधान गर्न नसके पुल वारी र नदी पारी हुने सम्भावना रहेको उनले बताए।

धनगढीको चटरपुरदेखि राजघाट जोड्ने पुलको लम्बाई एक सय २० मिटर मात्रै रहेको छ। निर्माण कम्पनी एलाइड एडभेञ्चरले अहिले निर्माण भइरहेको पुलको दुवैतर्फ एक सय मिटर लम्बाईमा ग्रावेल मात्रै हाल्ने जनाएको छ। ८ करोड ४२ लाखमा निर्माण भइरहेको पुल प्रयोगमा ल्याउनका लागि नदी कटानको जोखिमलाई रोक्नु पर्ने देखिएको छ।

एलाइड एडभेञ्चरका सञ्चालक चन्द्रशेखर मल्लले भने अबको एक महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने दाबी गरेका छन्। निर्माण सम्झौताको ७ वर्षपछि पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए।

‘ग्रावेल र रेलिङको काम मात्रै बाँकी रहेको छ,’ उनले भने, ‘नदी कटान रोक्नका लागि केही समयमै काम सुरु गर्ने योजना छ।’ नदी कटान रोक्नका लागि स्थानीय तहले पनि आफ्नो क्षेत्रबाट लाग्नु पर्ने माग गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस