सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कोभिड संक्रमितको उपचार गरेका नीजि अस्पताललाई भुक्तानी गर्दा विवाद

२०७८ साउन ८, ०६:४० नारायण अवस्थी

धनगढी : गत बैशाखमा कोभिड–१९ को संक्रमण बढेसँगै सरकारी अस्पताल संक्रमितले भरिएपछि प्रदेश सरकारले नीजि अस्पतालहरुले पनि कोभिड संक्रमितको उपचार गर्ने निर्णय गर्यो। सुदूरपश्चिम प्रदेशमा पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चानपुरका ११  वटा नीजि अस्पतालसँग कोभिड संक्रमितको उपचार गर्नुपर्ने र त्यसको खर्च सरकारले भुक्तानी गर्ने सम्झौता गरेको थियो।

सम्झौताअनुसार असार ११ गतेसम्म कैलाली र कञ्चनपुरका बिभिन्न ११ नीजि अस्पतालमा ४ सय ७२ जनाको उपचार गरिएको सरकारी तथ्यांक छ। तर प्रदेशका नीजि अस्पतालहरुले भने सरकारले सम्झौता गरेअनुसार उपचार खर्च नपाएको बताएका छन्। नीजि अस्पताल संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष जनकराज जोशीले भने, ‘दुई तीन दिन अगाडि स्वास्थ्य सेवा विभागबाट फोन आएको थियो। तपाईको ८० हजार पास भएको छ लैजानुस् भन्ने कुरा गर्दै थिए। २६ जनाको उपचार गर्दा ८० हजार मात्रै कसरी र के–को आधारमा भयो भन्दा यत्ति नै पाउने भन्ने जवाफ मिल्यो।’

कैलाली अस्पतालका सञ्चालकसमेत रहेका जोशीले उपचार र दाबीअनुसारको खर्च नपाएपछि भुक्तानी नलिएको बताए। अन्य नीजि अस्पताललाई पनि १०÷२० हजार भुक्तानी लैजान स्वास्थ्य सेवा विभागले फोन गर्दै आएको छ। तर सम्झौताअनुसार उपचार खर्च सरकारले दिन नमानेपछि भुक्तानी नलिएको अस्पताल सञ्चालकहरुले बताएका छन्। 

नीजि अस्पतालले आइसोलेसनमा बस्न आउने संक्रमितको दैनिक ३ हजार ५ सय, अक्सिजन सहयोग आवश्यक पर्ने बिरामीको ७ हजार, आइसियूमा उपचार गर्नुपर्ने बिरामीको १० हजार तथा आइसियू र भेन्टिलेटर दुबैमा राखेर उपचार गर्नुपर्ने कोभिड संक्रमितको उपचार गरेको दैनिक १५ हजारका दरले उपचार खर्च नीजि असपतालहरुलाई सरकारले नै उपलब्ध गराउने सम्झौता गरेको अस्पताल सञ्चालकले बताएका छन्।

अहिलेसम्म सरकारबाट उपचार खर्च नीजि अस्पतालहरुले किन पाएनन् भन्ने प्रश्नको जवाफमा सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर जगदिश जोशीले यो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रदेशको सामाजिक विकास मन्त्रालयको औपाचारिक कुरा नभएको बताए।

‘सम्बन्धित अस्पतालहरुको विवरण हामीलाई दिएका छन्। त्यो विवरणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छौँ,’ उनले भने, ‘भुक्तानी अहिलेसम्म भएको छैन। यो विषयमा थप कुरा मन्त्रालयसँग बुझेर मात्रै भन्न सकिन्छ।’

सुदूरपश्चिमका ११ नीजि अस्पताल मध्ये धनगढीको नोभा अस्पतालले ८७ जनाको उपचार गरेको सरकारी तथ्यांक छ। यसैगरी निसर्ग अस्पतालले ८६ जना, माया मेट्रो अस्पतालले ५८ जना, कैलाली अस्पतालले ३६ जना, नवजीवन अस्पतालले ३० जना, सुदूरपश्चिम सामुदायिक अस्पतालले ३० जना, सिपी अस्पतालले २५ जना, पद्मा अस्पतालले २२ जना, केजी अस्पतालले ११ जना तथा कञ्चनपुरको बेलौरीमा रहेको इशान मेमोरियल अस्पतालले ८० जना तथा कैलालीको घोडाघोडी अस्पतालले ७ जना कोभिड संक्रमितको सरकारबाट रकम पाउने गरी उपचार गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तर भुक्तानी गर्नुअघि स्वास्थ्य सेवा विभागले अस्पतालमा उपचार गराएका सम्बन्धित बिरामीलाई सम्पर्क गरेको जनाएको छ। ति बिरामीले अस्पतालमा आफूले पनिरकम तिरेको बताएपछि विभागले थोरै रकम मात्रै भुक्तानीका लागि सूची तयार पारेको बुझिएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस