सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार पटक नेपाल च्याम्पियन भएका कैलालीका भट्ट, जसको ३५ वर्षमै खेलकुदसँग साइनो टुट्यो

२०७८ साउन ७, १२:०१ खबर संवाददाता

धनगढी : नाम, लक्ष्मीदत्त भट्ट। कैलालीको गेटामा ६ लेन सडकको छेउमै घर छ। ६५ वर्षीय भट्टको खेलकुदसँगको साइनो छुटेको तीन दशक पुग्न लागेको छ। तर खेलका कुरा गर्दा उनका आँखा अहिले पनि रसाउँछन्।

तीन दशकअघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माएका भट्टले ४० को दशकको सुरुवातमा एथलेटिक्सअन्तर्गतको हिँडाई (स्लो रेस) विधामा एकछत्र राज गरेका थिए। 

नेपाली खेलकुदमा इतिहास बनाएका बैकुण्ठ मानन्धर, हरि रोक्कालगायत खेलाडीका समकक्षी थिए, उनी । उनी भन्छन्, ‘कतिपय प्रतियोगिताहरुमा सँगै पनि खेलेको थिए।’ ०३१ देखि ०४० सम्म एथलेटिक्सका राष्ट्रिय खेलकूद प्रतियोगिताको म्याराथनमा सहभागिता जनाएका उनी कहिल्यै पनि प्रथम हुन सकेनन्। दोस्रोमा चित्त बुझाउन प¥यो। त्यही समयमा खड्ग रानाभाटसँगको भेटले उनको खेल्ने शैली फेरियो। म्याराथुन छाडेर उनी हिँडाई अर्थात् ‘स्लो रेस’तिर लागे। त्यसपछि उनले पछाडि फर्केर हेर्न परेन्। 

२० किलोमिटरको प्रतियोगितामा उनले तत्कालीन सेती अञ्चलको प्रतिनिधित्व गर्दै चार पटक स्वर्ण पदक जिते। २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २० किलोमिटर हिँडाईमा दोस्रो भएका भट्टले २०४१ मा दाङमा भएको २४ औं एथलेटिक्स प्रतियोगितामा पहिलो स्वर्ण जित्दै दुई घण्टा ९ मिनेट २१ सेकेन्डको रेकर्ड राखे।

०४२ सालमा वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकूदमा पनि स्वर्ण जिते। २० किलोमिटरको दुरीलाई सुधार गर्दै दुई घण्टा ७ मिनेट १० सेकेन्डमा झारे। २०४३ सालमै काठमाडौंमा भएको २६ औं राष्टिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जित्दै ह्याट्रिक गरे। उनले २० किलोमिटरको दुरी एक घण्टा ५७ मिनेट १९ दशमलव ३० सेकेन्डमा पूरा गरेका थिए। २०४५ मा महेन्द्रनगरमा भएको २७ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पनि स्वर्णमाथि कब्जा जमाएका थिए।

२० किलोमिटरको हिँडाइमा नेपालमा रेकर्ड बनाउन सफल भएका लक्ष्मीदत्त भट्टले नेपालको प्रतिनिधित्व गर्दै दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए। सन् १९८५ मा इन्डोनेसियामा भएको छैटौं एसियन ट्याक एण्ड फिल्ड र सन् १९८७ मा सिंगापुरमा भएको सातौं एसियन ट्याक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गरे। दुवै प्रतियोगितामा पदक नजिते पनि आफ्नो प्रदर्शनलाई भने सुधार गरे।

अन्तर्राष्ट्रिय सहभागितासँगै राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि उनलाई राखेपमा २०४६ सालमा सहायक प्रशिक्षकको रुपमा नियुक्ति मिल्यो। तीन वर्षसम्म काम गर्दा उनले धेरै खेलाडीलाई प्रशिक्षण दिए। ३५ वर्षको हुँदा ०४९ सालमा सरकारले प्रशिक्षकबाट निष्काशन गरेपछि उनको प्रशिक्षणमा पनि पूर्ण विराम लाग्यो। ०४९ सालदेखि उनी फुर्सदिला छन्।

खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा गत वर्ष आयोजना गरेको दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिसकेको छ। उक्त अवार्ड पाउँदा पनि भट्टका आँखा रसाएका थिए।

कमेन्ट लोड गर्नुस