सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्वका बेला बजारमा मिसावटयुक्त खाद्यवस्तुको विगविगी

। फोटो स्रोत ।
२०७५ कार्तिक २३, ०४:०७ जनक विष्ट

नियमनकारी निकायको मौनताले चाडपर्वका बेला कैलालीका बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तुको विगविगी छ। यस्ता गतिविधि रोक्न भन्दै सरकारी निकायले चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको छ तर पनि उपभोक्ता भने मिसावटयुक्त खाद्यवस्तुको खरिद गर्न बाध्य छन्। नियमनकारी निकायभन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरू हावी हुँदा छिटफुट रूपमा हुने अनुगमन प्रभावकारी बन्न नसकेको हो। 

चाडबाडका बेला समान्य समयको भन्दा बजारमा मिठाइजन्य परिकारको कारोवार बढि हुने हुने भएकाले व्यपारीहरुले पनि मिसावट गर्दै मौकोको फाईदा उठाईरहेका हुन्। धनगढीमा रहेका अधिकांश मिठाई पसलहरुले अखाद्य रंग मिसाइएका मिठाईहरु बिक्रि गरिरहेका छन्। चाडपर्वका बेला बजार अनुगमनको डम्फु बजाउने स्थानीय प्रशासनले मिठाइजन्य वस्तुको कारोबार बढि हुने बेला वास्ता नगरेको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ का हेम उप्रेतीले बताए। 

चिकित्सकहरुका अनुसार खाद्य वस्तुमा मिसाउनका लागि छुट्टै रंग अहिले सम्म बनेको छैन्। तर यहाँका मिठाई व्यापारीहरुले भने मिठाईलाई आकर्षक देखाउन विभिन्न किसिमका रंग मिसाउदै आएका छन्। आँखाले हेरेर मिठाईको गुणस्तर छुट्याउन नसकिने भएका कारण उपभोक्ताहरु गुणस्तर मिठाई किन्न नपाएको धनगढीको फुलबारीका मनोज कुमार झाले बताए। 

शहरी जीवनशैली र कामकाजी महिलाको सङ्ख्या बढ्दा चाडपर्वका बेला उपभोग हुने मिठाई लगायतका खाद्यवस्तु घरमा बनाउने चलन कम भएको छ। तर बजारमा पाइने मिठाई ढुक्क भएर किन्न सकिने अवस्था नरहेको गुनासो सर्वसाधारणको छ। अखाद्य पदार्थको मिसावट गरेका मिठाईहरुको कारोबार बजारमा बढ्दो भएपनि नियमनकारी निकाय मौन बसेको छ। तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकदत्त भट्टले भने अनुगमन जारी रहेको बताए। 

हालै आएको उपभोक्ता संरक्षण ऐनले अनुगमन गर्ने निकायलाई बलियो बनाएको छ। कसैले अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएमा तत्काल ५ हजार देखि ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान नयाँ कानूनमा रहेको छ। तर त्यस्ता निकायहरूले गरेका अनुगमनले बजारलाई अनुशासित बनाउन सकेको छैन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस