सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको गौशालामा व्यवसायिक पशुपालन गर्ने लक्ष्य

२०७८ साउन २, ०७:१७ खबर संवाददाता

धनगढीः धनगढीको गौशालाले व्यवसायिक पशुपालन गर्ने लक्ष्य राखेको छ। उप–महानगरपालिकाको वडा नम्बर ३ मा रहेको गौशालामा छाडा पशुचौपायाहरुको संख्या बढ्दै गएपछि स्थानीयहरु व्यवसायिक रुपमा अगाडि बढ्ने सोचमा रहेका छन्। 

अहिले गौशालामा सडकदेखि घरबाट समेत गाईहरु पुर्‍याउने गरेको गौशाला व्यवस्थापन हेर्ने रिता जोशी अवस्थीले बताइन्। ‘घरबाट गौशालामा गाई पु¥याएमा समितिले आफ्नो मापदण्ड बनाएको छ’ उनले भनिन् ‘त्यसै अनुसार गाईहरुलाई राख्ने गरेका छौँ।’ 

उनले गाई–गोरुको संख्या बढ्दै गएको हुँदा नश्ल जातका गाई उत्पादन गरी व्यवसायिक रुपमा अगाडि बढ्ने बताइन्। ‘गाई गोरुको संख्या बढ्दै गएको छ। यसलाई व्यवस्थित गर्नका लागि उन्नत जातका गाई उत्पादन गर्न पनि आवश्यक रहेको छ’ उनले भनिन्, ‘गाई गोरुका मलबाट दाउरा र गँड्यौला मल उत्पादन गर्ने लक्ष्य समेत लिएका छौं।’ 

गौशाला समितिका अनुसार गँड्यौला मल उत्पादन सुरु भएको छ भने दाउरा पनि चाडै नै उत्पादन सुरु हुने छ।  गँड्यौला मलको बारेमा सुदूरपश्चिममा किसानलाई खासै जानकारी नभएकाले यो मल धान, गहुँलगायत सबै बालीका लागि उपयोगी हुने समितिको भनाई छ। 

गँड्यौलाको मल प्रयोग गरे जमिनको उर्वरा शक्ति बढ्ने भएकाले अर्गयानिक मलको प्रयोग खेतिको लागि अपरिहार्य रहेको कृषिसँग सम्बन्धित जानकारहरु बताउने गरेका छन्। 

गौशाला सञ्चालनमा तत्कालका लागि बलियो आयोस्रोत नहुँदा समस्या हुने गरेको समितिले जनाएको छ। हेरालुदेखि गाईगोरुको दाना चारोका लागि समस्या हुने गरेको गौशाला व्यवस्थापन समितिका महासचिव रघुविर भट्टले बताए। ‘मुठ्ठी दानबाट मासिक रुपमा केही रकम संकलन हुने गरेको छ’ उनले भने ‘तर त्यसले मात्र पुग्दैन’ उनले भने।

 गौशाला सञ्चालनका लागि मासिक न्यूनतम ६० हजार सम्म खर्च हुने गरेको उनले बताए। ‘तीन जना हेरालु राखेका छन्। उनीहरुलाई मासिक तलब दिनुनै पर्यो अनि गाई गोरुलाई पनि भुसा पराल किन्दा त्यतिले पुग्दैन्’’ उनले भने। धनगढी उपमहानगरको छेउमा रहेको गौशाला नजिक चरीचरन क्षेत्र नहुँदा पनि समस्या हुने गरेको उनले  बताए। 

२०७५ बाट सुरु गरेको गौशालामा अहिले ७० देखि ७५ वटा गाईगोरु रहेका छन्। गौशाला निर्माणका लागि ३६५ आजिवन सदस्यहरु रहेका छन्। गौशालामा धनगढी उपमहानगरपालिका, सांसद डिल्लीराज पन्तको प्रदेश सांसद कोषको रकम र प्रदेश सरकारको गरी झण्डै एक करोड ७५ लाख खर्च भइसकेको छ। गौशालामा एक सय ५० भन्दा बढी गाईगोरु अटाउने क्षमता भएको गोठ निर्माण भएको छ।


 

कमेन्ट लोड गर्नुस