सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकमा पानी जम्न थाल्यो, ठाउँठाउँमा पर्‍यो चिरा

२०७८ साउन १, ०६:०९ नारायण अवस्थी

धनगढी : मोहनापुल– अत्तरिया ६ लेन सडकमा पानी जम्न थालेको छ। सडकमा निर्माणको क्रममा गरिएको त्रुटिले सडकको सतहमा पानी जम्न थालेको हो। ६ लेन सडकको मध्यभागमा बनाइएको मिडियनको दुबै छेउमा पानी जम्न थालेको छ भने सडकको अन्य सतहमा समेत पानी जम्न थालेको छ।

पानी जमेको सडकको आयु निकै कम हुने गरेको छ। धनगढीका स्थानीय चटक कठायत सडकमा पानी जम्न थालेकोले निर्माण गर्दा लापर्बाही भएको हुनसक्ने आशंका गर्छन्। ‘६ लेन सडकमा विभिन्न ठाउँमा पानी जम्न थालेको छ। खाल्टा पनि देख्न सकिन्छ,’ उनले भने, ‘सडक धेरै ठाउँमा चर्केको पनि छ। यसरी त सडक छिटै भत्किन्छ होला।’ ६ लेन सडकको नाली र कल्भर्ट निर्माणका लागि बनाइएको डिजायन इस्टिमेटमै त्र्ुटी भएको र निर्माणका क्रममा लापरबाही भएको आरोप लाग्दै आएको छ। 

मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका प्रवक्ता इन्जिनियर लक्ष्मण खड्काले एक दुई ठाउँमा पाइप राखेको नमिलेको कारण पानी जम्ने भएको बताउँछन्। ‘मेडियनमा पानी निकासका लागि राखिएका पाइप नमिलेको कारण पानी जमेको हो,’ उनले भने, ‘पानी जम्ने समस्या भएको ठाउँमा थप पाइप राखेर पानी क्रस गराउने भन्ने योजना छ।’ 

एकातर्फ ६ लेन सडकको बीच भागमा पानी जम्ने समस्या देखिएको छ भने अर्कोतर्फ सडकको मुख्य भाग चर्किन थालेको छ। भर्खरै कालोपत्रे गरिएको सडकको ट्राफिक चौराह लगायतको क्षेत्रमा कालोपत्रे चर्किएको देख्न सकिन्छ। तर आयोजना कार्यालयले भने वर्षातपछि कालोपत्रे चर्किएको ठाउँमा पुनः मर्मत गर्न लगाउने जनाएको छ। 

इन्जिनियर खड्काले एक दुई ठाउँमा सडकमा देखिएको समस्या करेक्सनका लागि निर्माण व्यवसायीलाई भनिसकेको बताए। रावलले भने, ‘वर्षातपछि सडक र कल्भर्टमा देखिएको समस्या करेक्सन गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।’

२०७४ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको सडकमा कालोपत्रे लगायतका महत्वपूर्ण काम सकिएइको बताइएको छ। कुल लागत १ अर्व ६८ करोड रहेको सडक निर्माणको जिम्मा राजेन्द्र निर्माण सेवा र शर्मा अमर नागार्जुन जेभीले पाएका थिए। अहिले सडकमा रङरोगन, फुटपाथ निर्माण र रेलिङ लगाउने काम भइरहेको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस