धनगढीमा बन्छ भारतमा हुने चोरीको योजना !
धनगढी: भारतमा हुने साना-ठूला चोरीको योजना धनगढीमा बसेर बन्ने गरेको प्रवासी नेपालीहरुले दाबी गरेका छन्।
भारतका विभिन्न राज्यका साना–ठूला शहरमा दैनिकजसो हुने चोरी तथा डकैतीको योजना बनाउने र चोरीको समानबाट फाइदा लिने मुख्य योजनाकारहरु धनगढीमा खुलेआम घुम्ने गरेको बताइएको छ। केही वर्षदेखि भारतका विभिन्न राज्यमा हुने चोरी डकैतीमा सुदूरपश्चिमका नेपालीको संलग्नता ह्वात्तै बढेसँगै प्रवासमा नेपालीप्रतिको विश्वास गुम्दै गएको छ।
चोरी डकैतीकै कारण सामान्य काम गरेर गुजारा गर्ने प्रवासीले सास्ती भोग्नु परेको भारतमा रहेका बैतडीका लोकेश साउँदले बताए। ‘भारतमा केही वर्ष अगाडिसम्म नेपालीलाई इमानदार र सोझा हुन्छन् भनेर सम्मान र इज्जत गरिन्थ्यो, उनले भने, ‘वीर गोर्खालीको परिचय बनाएको भारतमा अहिले चोरीका घटनमा नेपालीको संलग्नताको कारणले हेला, तिरस्कार र दुःख पाउन थालेका छन्।’
हिजो आज भारतका सबै शहरमा हुने चोरीका घटनमा सुदूरपश्चिमेली नेपालीको संलग्नता बढेको बताइन्छ। चोरी गर्ने समूहले भारतमा रहेका नेपालीका आमाबुवाबाट छोरा कुन ठाउँमा के काम गर्छ त्यो पत्ता लगाएर भारत जाने र त्यहाँ मित्रता गास्ने, काम गर्ने कम्पनी र मालिकको आर्थिक हैसियत पत्ता लगाएपछि घरमा कोही नभएको मौका हेरेर चोरी गर्ने गरेको भारतको हरियाणमा रहेका डोटीका महेन्द्र बोगटीको दाबी छ।
‘चोरी गर्ने नेपाली गिरोहले घरमै चोरी गर्ने गरेका छन्,झ उनले भने, ञत्यो गिरोहका नाइके भने धनगढीमा हुन्छन्। धनगढीमा नै योजना बनाउने काम गरिन्छ।’ भारतमा हुने दैनिक चोरीको कारण त्यहाँ रहेका सोझा नेपालीहरुले प्रहरी दमनका साथै आर्थिक शोषण समेत खेप्नु परिरहेको बताइएको छ।
चोरी हुनासाथ भारतीय पुलिसले भेटेजति नेपालीलाई गिरफ्तार गर्ने, यातना दिने तथा अखबारमा नेपाली समुदायको मानमर्दन हुने गरि समाचार आउने गरेको प्रवासी नेपालीले बताएका छन्। भारतमा हुने हरेक चोरीमा अहिले महिलाको प्रयोग समेत बढ्न थालेकोे बाजुराका कलुराम गिरि दाबी गर्छन्।
‘भारतमा चोरी गर्न प्रयोग हुने व्यक्तिको समेत फरकफरक समूह छ,झ उनले भने, ञघरपत्ता लगाउने, लकर तोड्ने, भारतबाट नेपालको सिमानाकासम्म पुर्याउने, तथा नेपालमा चोरीको नगद तथा गरगहना व्यवस्थापन गर्ने समूह अलगअलग हुने गरेको छ।’
भारतबाट चोरी गर्ने समूहको पहिचान भएपनि नेपाल प्रहरीले कारवाही गर्न नसक्दा चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरुको मनोवल झन उच्च भएको गुनासो गरिएको छ। तर कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारी भने चोरीमा संलग्न गिरोहको पहिचान गरी नियन्त्रणका सबै प्रयास थाल्ने बताएका छन्।
उनले भने, ‘प्रचलित नेपालको कानून अनुसार चोरीको घटनामा दशी प्रमाण प्राप्त हुनुपर्ने र घटनास्थल नेपाल सरहद हुनुपर्ने भएपनि उजुरी आएमा छानविन गरेर कानूनी दायरामा ल्याइ भारतमा हुने चोरी निस्तेज गर्नेमा हामी लागी रहेका छौँ।’
भारतमा चोरी गरेर सुदूरपश्चिममै दैनिक करौँडोको सुन, हिरा तथा नगद भित्रिइरहेको दाबी प्रवासमा रहेका नेपालीले गरेका छन्। भारतमा चोरी गर्नु मुख्य पेशा बनाएका समूह र व्यक्तिको संख्या दिनहुँ बढीरहेको तथा नियन्त्रणका प्रयास नभइरहेकोले भारतमा रोजगारी गर्न जाने सर्वसाधारण नेपालीको हत्या, अपहरण र बलात्कार हुँदासमेत भारतीय प्रहरीबाट सहयोग पाउन मुस्किल हुने गरेको बताइएको छ।