सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार अपेक्षाकृत बजेट खर्च गर्न असफल, ११ अर्ब फ्रिज

२०७८ असार ३१, ०६:४१ रोशन भट्ट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ। 

चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो। आर्थिक वर्षको अन्त्यसम्म चालूतर्फको १० अर्ब ४९ करोड बजेट सकिएको छ। असार २७ गतेको तथ्याङ्कअनुसार चालूतर्फ ६४ प्रतिशत र पुँजीगततर्फ ६९ प्रतिशत प्रगति भएको सुदूरपश्चिम प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशीले बताए। 

विगतका वर्षहरुको तुलनामा खर्च प्रगति बढेको देखिएपनि पछिल्लो केही वर्ष यता ठूला तथा गौरवका योजनाहरुको प्रगति सन्तोषजनक भएको देखिएको छैन।  कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पनि प्रदेश गौरवका योजनाहरुको खर्च सन्तोषजनक रुपमा हुन सकेको छैन। ३४ अर्ब बजेट रहेको प्रदेशमा ६७ प्रतिशत अर्थात २३ अर्ब १९ करोड मात्रै खर्च भएको छ। ‘प्रदेश गौरवका योजनाहरुको प्रगति खासै राम्रो छैन’ प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जोशीले भने। 

पुँजीगत बजेट बढी खर्च गर्ने प्रदेशका मन्त्रालयहरुले पनि आर्थिक वर्ष २०७७/०७८ मा ठूला योजनाको सन्तोषजनक प्रगति नभएको उनले स्वीकार गरेका छन्। प्रदेशको भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन तथा कृषि लगायत अन्य मन्त्रालयहरुका गौरवका योजनाहरुको खर्चको अवस्था अपेक्षाकृत रुपमा हुन सकेको छैन। 

प्रदेश गौरवका योजनाहरुको ठेक्का बहु–वर्षीय हुने गरेका कारण पनि खर्च कम देखिएको प्रदेशको भूमि, व्यवस्था सहकारी तथा कृषि मन्त्रालयका प्रवक्त डा. हेमराज अवस्थीले बताए।  ‘कतिपय योजनाहरुको काम भएपनि भुक्तानी नभएका कारण खर्च कम देखिएको होला,’ उनले भने, ‘तर यस वर्ष विगतको भन्दा काम राम्रो भएको छ।’ 

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सुदूरपश्चिम प्रदेशको ११ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ। 
 


 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस