सुदूर नेपाललाई विश्वसँग जोड्दै

जय नेपाल कमरेड ! (कविता)

२०७८ असार ३१, ०५:४४ खबर संवाददाता

-मोहन सिह साउद

कमरेड, पार्टी फरक भएपनि हामी दुवै कमरेड अर्थात साथी
कहिले तिमी सत्तामा जाऊ कमरेड कहिले म जान्छु
बाहिर–बाहिर एक अर्कालाई तथानाम गाली गरौं
भित्रभित्रै हामी मिल्नुपर्छ जनताले सुइको नपाउने गरी
तिमी कार्यकर्तालाई अरिङ्गाल बनाउ म भेडा बनाउछु
हामी मिलेर सत्ताको स्वाद पालै पालो चाखिरहनुपर्छ

तिम्रो मेरो उद्देश्य त एउटै हो नि 
जनतालाई झुक्याउने तरिका पो फरक
तिम्रा कार्यकर्तालाई तिमी तह लगाऊ
मेरालाई तह म लगाइहाल्छु
यिनले हामी मिलेको चाल पाउनुहुन्न है कमरेड
नत्र त हाम्रो उठिवास लाउने छन् हेक्का राख !

तिमी रोए झै गर म हाने झै गर्छु
हाम्रो मन्त्र त तिमीलाई पनि थाहै छ
मैले फेरि फेरि भनिरहन पर्ला र ?
हाम्रो आन्तरिक मामला जनताले थाहा नपाउन
बस यति कुरा हेक्का राख है 
यसरी जनता कार्यकर्ता झुक्याउन सकेर पो
हामी श्वास रहेसम्म टिकिरहेका छौ त 
मर्ने बेलासम्म हामी युवा नेता कहलिएका छौं त !

कमरेड तिम्रो र मेरो घोषणापत्र र सिद्वान्त
हातीको देखाउने दाँत मात्र हुन् भन्ने कुरा 
तिमी हामीलाई बाहेक अरुलाई के थाहा छ र
जनतालाई ललीपप देखाएर पो 
विवेक बन्ध्याकरण गर्न सफल हामी
विरोधीलाई ठेक्कापट्ठा दिएर चुप लाऔं

तिमी भएर पो म छु, म भएर पो तिमी छौ
हाम्रो गला जोडिएको कसैले चाल नपाउन हेक्का राख है
सात पुस्ते कमायौं अब अर्को जुनीको लागि कमाउनु पर्छ
अर्को जुनीमा यसरी नै सत्तासिन हुन्छौं भन्ने के ग्यारेन्टी
कुरा बुझ्यौ नि कमरेड ?
ल हवस प्रभु, 
जय नेपाल कमरेड !
 

कमेन्ट लोड गर्नुस