सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा फेरि लम्ब्याइयो निषेधाज्ञा

२०७८ असार ३१, ०५:३७ खबर संवाददाता

धनगढीः कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ। यस्तै अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधान सञ्चालन गर्न पाइने छ। 

अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ पाण्डेले जानकारी दिए। 

यस्तै सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपाले गरी सञ्चालन गर्न सकिने छ। 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। तर अत्यावश्यक भएको अवस्थामा बढीमा २५ जना सहभागी हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन्।

कमेन्ट लोड गर्नुस