सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अपि मार्ग २ वर्षदेखि अलपत्र, छिट्टै काम सम्पन्न नगरे आन्दोलन गर्ने चेतावनी

२०७८ असार ३०, ०६:४३ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ८ रामजानकी टोलको अपि मार्ग २ वर्षदेखि अलपत्र छोडिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

क्याम्पस रोडदेखि बुद्धचोक जाने सडकसम्मको करिब ५ सय मिटर लामो सडक निर्माण गर्न प्रदेश सरकारको सशर्त अनुदानको कुल ५८ लाख ३४ हजार बजेटमा धनगढीको ओम वीरभद्र कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा पाएको थियो। तर निर्माण कम्पनीले २०७७ असार २६ गते काम सम्पन्न गर्ने सम्झौता धनगढी उपमहानगरपालिकासँग गरेको भएपनि अहिलेसम्म सडक ग्रावेलसम्म भएको छैन। 

रामजानकी टोलका स्थानीय प्रदीप शाहीले काम सुरु गरेको दुई वर्ष हुँदा पनि काम सम्पन्न नभएको बताए। ‘सडक बन्न लागेको दुई वर्ष भयो ठेकेदारले पाँच छ दिन काम गर्ने छोड्ने गरेको छ’ उनले भने, हिजो काम गर्न आएका थिए, ठेकेदारसँग खोई के भयो आज त काम गर्न कोही आएका छैनन्।’

दुवैतर्फ नालीसहितको पिसिसी सडक निर्माण गर्न सम्झौता गरेको निर्माण कम्पनीले ठेक्का सम्झौतामा उल्लेख भएको समय सिमा अनुसार काम गरेको भए सकडको काम २०७७ को असार २० गते नै सक्नुपर्ने हो। तर निर्माण कम्पनीले काम नगर्दा सडक झनै बर्वाद भएको र पानी पर्दा हिड्नै नसकिने भएको अर्का स्थानीय रतनसिंह धामीले गुनासो पोखे। ‘बाटो त कस्तो बनाएर छोड्यो भने अलिकति पानी पर्ने बित्तिकै नदीमा हिडेजस्तो हुन्छ’ उनले भने, ‘पहिलेको भन्दा बाटो बिग्रेर खत्तम भएको छ।’

सडक अहिलेसम्म अधुरो हुनुमा निर्माण व्यवसायी, जनप्रतिनिधि, र उपमहानगरपालिकाका कर्मचारी जिम्मेवार रहेको टोल विकास समितिका अध्यक्ष काशीराम विष्टले आरोप लगाएका छन्। ‘सडक नबन्नुमा ठेकेदार कम्पनीको कमजोरी छ। स्थानीयसँग सरोकार नै नराखी काम नगरेरै बाटो अलपत्र छोडेको छ’ उनले भने, ‘सडक नबन्नुमा ठेकेदारसँगै स्थानीय जनप्रतिनिधि र कर्मचारीको पनि मिलेमतो छ।’ अब सडक निर्माण नगरिए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।

धनगढी उपमहानगरपालिकाले भने निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ। निर्माण कम्पनीका सञ्चालकलाई कार्यालयमै बोलाएर शीघ्र काम सम्पन्न गर्न निर्देशन दिएको उपमहानगरपालिकाका योजना तथा प्राविधिक शाखा प्रमुख दिजराज भट्टले बताए। काम गर्न ढिलाइ गरेकोमा जरीवाना गरेरै भएपनि मंसिरसम्म सडक निर्माण सम्पन्न गरिने दाबी उनले गरे। 

धनगढीको अपि मार्ग निर्माणमा ढिलाइ गरेको ओम वीरभद्र कन्स्ट्रक्सनका सञ्चालक चेतन पन्तसँग कुराकानी गर्न पटकपटक टेलिफोन गर्दा उनी सम्पर्कमा आएनन्। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस