सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि ७७ वटै जिल्लामा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइने

२०७८ असार २९, ०८:१२ खबर संवाददाता

काठमाण्डौ – सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ। भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ। यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए। 

सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरू, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइनेछ । हिजो मात्रै नेपाल आइपुगेको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ।

जोनसन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ। स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने विभागका महानिर्देशक डा. सिंहले जानकारी दिए। 

खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ।

अहिलेसम्म नेपालमा कुल जनसङ्ख्याको ८ दशमलव ८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्।

कमेन्ट लोड गर्नुस