बैतडीको चडेपानी थप एक हप्ताका लागि सिल गरियो
कोरोनाको जोखिम कायमै

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका ७ को चडेपानी गाउँ थप एक हप्ताका लागि सिल गरिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गते सम्मका लागि चडेपानीलाई सिल गरिने जनाएको छ।
यसअघि असार २० गतेदेखि असार २७ गते सम्मका लागि सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए।
गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ भने परीक्षणको दायरा समेत बढाइएको गाउँपालिकाले जनाएको छ।


