सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालमा एनआईसीयू राखिँदै, अक्सिजन प्लान्ट जडान हुँदै

२०७८ असार २८, ११:५५ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरको महाकाली अस्पतालले तेस्रो लहरको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आईसीयू बेड, थप आइसोलेसन बेडहरूको व्यवस्थापन र अक्सिजन प्लान्ट जडानको काम अघि बढाएको छ।

महाकाली प्रादेशिक अस्पतालमा अहिले ६ बेडको आईसीयू सेवा सञ्चालनमा छ। त्यसैमध्ये २ बेड बालबालिकाका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालमा एनआईसीयूका लागि छुट्टै भवन निर्माण हुने तयारीमा छ। अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले सामान्य बिरामीका लागि रहेको ५० बेडको आइसोलेसन वार्डको पनि क्षमता बढाउने तयारी भइरहेको बताए।

अबको एकरडेढ महिनाभित्रै अक्सिजन प्लान्ट निर्माण भइसक्ने अस्पतालले जनाएको छ। पहिलो लहरको संक्रमणबाट कञ्चनपुरमा १६ र दोस्रो लहरबाट १ सय ७१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। तेस्रो लहर अझ बढी संक्रामक र जोखिमपूर्ण हुने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस