सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा जोड्ने मुख्य राजमार्ग तहसनहस हुँदासमेत सरकार चिर निन्द्रामा

२०७८ असार २८, ०९:१९ नारायण अवस्थी

 धनगढीः गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन।

साँफेबगर–मार्तडी सडकको साँफेदेखि ३५ किलोमिटरको आसपासमा झण्डै चार किलोमिटर सडकमा पहिरोको जोखिम धेरै भएकाले त्यो क्षेत्रमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने आवाज उठ्न थालेको छ। त्यो सडक अहिले पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ।

बाजुरा जिल्लाको सदरमुकाम जोड्ने संघीय सरकार मातहतको त्यो सडकमा पहिरो रोकथाममा लागि पर्याप्त बजेट नभएकाले पानी पर्दा सडक खुलाउने बाहेक अन्य कार्य गर्न नसकिएको बताइएको छ। बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपकविक्रम शाहले सडकमा बृहत रुपले पहिरो नियन्त्रणका लागि काम गर्न सरकारले बजेटको व्यवस्था नगरेको गुनासो गरेका छन्।

‘एक वर्षदेखि सडक अवरुद्ध छ। घाम लागेको बेला ट्रयाक्टर अलिअलि पास हुन्छन्, पानी परे पुरै अवरुद्ध हुने गरेको छ।’ शाहले भने।

साँफे–मार्तडी सडकको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकामा पर्ने क्षेत्रको झण्डै ४ किलोमिटर सडकमा पहिरोको कारण सडक छिन्नभिन्न छ। सडक भएको आम्कोट, द्वारी, ताप्रिसेरा, बल्दे जस्ता ठाउँमा पहिरो नियन्त्रण गर्न राज्यले ठूलो लगानी लगाउनु पर्ने शाह बताउँछन्। यदि सरकारले ठूलो लगानी लगाउन सम्भव नभए पहिरो जाने क्षेत्रभन्दा सडक अन्यत्रबाट खन्नुपर्ने माग उठ्न थालेको भएपनि सडक विभाग सुरुका दिनमा नयाँ ट्रयाक खोल्ने विषयमा सकारात्मक नभएपनि जिल्लावासीले भने नयाँ ट्रयाक खोल्नुपर्ने माग गर्न थालेको नगरप्रमुख शाहको दाबी छ।

साँफेबगर–मार्तडी सडकको पहिरो गएको क्षेत्रमा सडक पुनः निर्माण गर्न नसकिने भए अन्य विकल्पबारे सोच्नुपर्ने स्थानीयले माग गर्दै आएको सडक डिभिजन कार्यालय साँफेबगरले पनि जनाएको छ। सडक विभागले विकल्पबारे छलफल भइरहेको बताएको छ। नयाँ ट्रयाक खोल्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुने डिभिजन सडक कार्यालय साँफेका निमित्त प्रमुख इन्जिनियर दमन विष्टले बताए।

‘नयाँ ट्रयाकको कुरा उठी रहेको छ, माथिबाट ब्रेक थ्रू भयो भने नयाँ ट्रयाकमा काम गर्न सकिन्छ, तर सडकको अहिलेको बाटो परिवर्तन गर्न मन्त्रीपरिषद्को निर्णय आवश्यक हुन्छ।’ इन्जिनियर विष्टले बताए।

बाजुरा जिल्ला जोड्ने मुख्य सडक तहसनहस भएको एक वर्ष हुँदासमेत सरकार भने चिर निन्द्रामा रहेको जिल्लावासीको आरोप छ। संघीय सरकारअन्तरगत रहेको साँफेबगर–मार्तडी सडक क्षतिग्रस्त भएको एक वर्ष हुँदासमेत मर्मत वा विकल्पका विषयमा कुनै काम गर्न सकिएको छैन।

सुदूरपश्चिमको सबैभन्दा दुर्गम जिल्ला बाजुरामा एकवर्षदेखि सडकमा गएको पहिरोले समस्या हँुदा पनि सरोकारवाला निकायले समाधानका प्रयास नगरेकोमा जिल्लावासी निराश रहेको बताइएको छ। बाढी र पहिरोका कारण अधिकासं समय अवरुद्ध हुँदा भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस