सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेचर गाइडको माग कोभिड खोप

२०७८ असार २७, ०५:१४ रासस

चितवन: नेचर गाइड एशोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ। 

एशोएिशसनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सफारी पर्यटन सञ्चालन गर्नका लागि पनि आफूहरुलाई कोरोनाविरुद्धको खोप दिन आवश्यक रहेको जनाएको हो। तीन तहको सरकारसँग चार बुँदे मागसमेत एशोसिएशनले राखेको छ। एशोसिएशनले कोभिड खोप उपलब्ध गराइनुपर्ने, वार्षिक नवीकरण शुल्क मिनाहा गर्नुपर्ने, वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काममा नेचर गाइडलाई संलग्न गराई रोजगारीको सिर्जना गर्नुपर्ने, पेशालाई मर्यादित र प्राविधिक बनाउनका लागि कार्यविधि आवश्यक रहेकाले सो निर्माण गरिनुपर्ने माग राखेका छन्।

पर्यटन व्यवसायमा अग्रपङ्तिमा रहेर काम गर्ने गाइडलाई अनिर्वायरूपमा  खोपको व्यवस्था गर्न एशोसिएशनले पटक–पटक स्थानीय प्रशासनमार्फत माग गरेको भए पनि सरोकारवालाले सुनुवाइ नगरेको एशोसिएशनका अध्यक्ष राजेन्द्र धामीको गुनासो छ। कोरोनाका कारण नेचर गाइड पेशाबाट पलायन हुन थालेको उनले बताए। पहिलो चरणको कोरोना सङ्क्रमणसँगै २५ जना गाइड विदेश पलायन भएको भन्दै उनले त्यसपछि पनि १०० जनाले मात्र रोजगारी पाएको जानकारी दिए। 

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा पर्यटक घुमाउनका लागि ७०० नेचर गाइड रहेका छन्। तीमध्ये ५०० जनाले पेशा अँगालेका छन्। एशोसिएशनको तथ्याङ्कअनुसार सौराहा क्षेत्रमा मात्रै ४०० गाइड रहेका छन्। एक सय जना मेघौली, घटगाई, अमलटाडी र माडी क्षेत्रमा रहेका छन्। ती गाइड अहिले दैनिक ज्यालादारी र घरायसी काममा रहेको पुराना गाइड उदयचन्द्र अर्यालले जानकारी दिए। पत्रकार सम्मेलनमा बोल्दै उनले गाइडको ज्याला निर्धारण, गुणस्तर र नियमित काम गर्ने प्रावधानको व्यवस्था गर्नसमेत माग गरे।

पर्यटन व्यवसाय सञ्चालन हुँदा अग्रभागमा रहेर काम गर्दै आएका गाइडले मासिक ३० देखि माथि ७० हजारसम्म कमाउने गरेको भए पनि कोरोना कहरका कारण व्यवसाय छाड्ने अवस्थामा आएको एशोसिएशनका सल्लाहकार टीकाराम गिरीले बताए। उनका अनुसार व्यवसाय सञ्चालन नहुँदा वार्षिक नवीकरण शुल्क दुई हजार तिर्नसमेत समस्या हुने गरेको छ।

कमेन्ट लोड गर्नुस