सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप-महानगरपालिकामा निर्माण भएका सडक प्रयोगमा नआउँदै भत्किन थाले

२०७८ असार २६, ०६:४७

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीको धनगढी उप-महानगरपालिकामा निर्माण भएका सडक प्रयोगमा नआउँदै भत्किन थालेका छन्।

टुक्रे योजना बनाएर निर्माण गरिएका सडक प्रयोगमा नआउँदै भत्किन थालेका हुन्। 

उप-महानगरपालिकाभित्र लाखौ रकम खर्चेर पानीपीच गरिएका अधिकांश सडकको अवस्था नाजुक छ। चालू आर्थिक वर्षका लागि छनोट गरिएका ग्राभेल, नाली तथा पानीपीच गरिएका सडकहरु घाममा धुलाम्य र पानीमा हिलाम्य हुन थालेपछि स्थानीयले विकासको नाममा रकम दुरुपयोग गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।

धनगढी उप-महानगरपालिका वडा नम्बर २ को मुख्यसडक सब्जीमण्डी हुँदै दक्षिण हुलाकी सडकसम्म ४ सय ४० मिटर सडक पानीपीच गर्न ७ लाख ३५ हजार खर्च भएको छ।

तर बजेटअनुसार काम नभएको स्थानीयको गुनासो छ। वडा नम्वर २ कै बैयाबेहडी भुपेन्द्र धामीको घरदेखि दक्षिण पिपल चौतारासम्मको बाटोमा पनि ४ सय ४८ मिटर लामो सडक पानीपीच गर्न ६ लाख १७ हजार ९७८ रुपैयाँ खर्च भएको देखाइएको छ। 

पानीपीच गरिएका सडक सामान्य वर्षा हुँदा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने अवस्थाका कारण सडक दायाँबायाँ व्यवसाय गर्दै आएका व्यवसायी र आवतजावत गर्ने स्थानीय हैरान भएका छन्। धनगढी उप-महानगरपालिका वडा नम्बर २ सब्जीमण्डी नजिकै व्यवसाय गर्दै आएका सुर्यप्रसाद जोशीले उप-महानगरपालिकाले निर्माण गरेको सब्जीमण्डी पानीपीच सडकले निकै सास्ती खेप्नु परेको गुनासो गरे। ‘पानीपीच गरेको धेरै समय भएको छैन। तर घाम लाग्दा धुलो र सामान्य वर्षा हुँदा हिलोका कारण हैरानी खेप्नु परिरहेको छ’ व्यवसायी जोशीले भने।

वडा नम्बर २ मा मात्र सडक, नाली, भवन मर्मत लगायत ४० वटा योजनाको निर्माण सम्पन्न भएको भन्दै उप-महानगरपालिकामा चालू आर्थिक वर्षको प्रगति विवरण पेश गरिएको छ। तर निर्माण सम्पन्न भएका योजनाहरुको कार्यक्षेत्रको प्रगति हेर्दा स्थानीयले झन ठूलो सास्ती पाउने गरी सडक ग्राभेल, सडक कालोपत्रे र नाली निर्माण गरेको स्थानीयको गुनासो छ। पानीपीच गरिएको सडक प्रयोग गर्नै नसकिने गरी निर्माण भएको भन्दै सडक स्तरोन्नतीको माग समेत स्थानीयले गरेका छन्।  

यता वडा नम्बर २ की प्राविधिक सीमा शाहले पानीपीच गरेको ४/५ दिनसम्म कुनै सवारी साधन चलाउन नमिल्ने तर ठुलठुला सवारी साधन चल्न थालेपछि समस्या भएको बताइन्। ‘स्थानीयकै लापरवाहीले सडकको अवस्था बिग्रिन पुगेको हो’ उनले भनिन्। 

चालु आर्थिक वर्षका लागि छनोट भएका सम्पूर्ण योजनाको निर्माण कार्य सम्पन्न भइसकेको भन्दै भुक्तानीका लागि २ नम्वर वडा कार्यालयले धनगढी उपमहानगरपालिकामा फाइल पेश गरेको छ। तर वडा नम्वर २ को सडक, नाली र निर्माण सम्पन्न भएका अन्य योजनाको प्रगति हेर्ने हो भने दयनिय देखिन्छ। 

एक स्थानबाट अर्को स्थानसम्म पुग्ने नसकिने गरी सडक ग्राभेल मात्र गरिएको छैन। मर्मत संभारको नाममा मनलाग्दी रुपमा निर्माण सामग्री थुपारिएको छ। यसले दुर्घटनाको जोखिम समेत बढाएको स्थानीय बताउँछन्। 

तर धनगढी उप-महानगरपालिकाका योजना तथा प्राविधिक शाखा प्रमुख द्धिजराज भट्टले भने पानीपीच सडक ग्राभेल नै भएकाले धुलोधुवाको समस्या भइरहने बताउँछन्। ‘खाल्डाखुल्डी पर्नु हुँदैन, घाम लाग्दा धुलो र वर्षा हुँदा हिलो त हुन्छ नै’ उनले भने।

आर्थिक वर्षको अन्तिममा आएर हतार–हतारमा गरिने आसारे विकासका कारण उप-महानगरवासीले वर्षौदेखि विकासको अनुभुति गर्न पाएका छैनन्। कामै नगरी काम भएको भन्दै रकम दुरुपयोग गर्ने प्रवृतीको अझै अन्त्य हुन नगरवासीको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस