कैलालीकी काजल जोशी, जसलाई दोहोरी गायनले बनायो भाइरल

धनगढी: कैलालीको मोहन्याल गाउँपालिका कचालीकी काजल जोशी सानैदेखि गीत गाउन सिपालु थिइन्। गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुन्थ्यो। देउसी भैलो भट्याउँदा काजललाई नै सम्झिन्थे गाउँलेले पनि। उच्च शिक्षाका लागि टीकापुर झरेपछि गायन कार्यक्रममा उनको सहभागिता पनि बढ्दै गयो। टीकापुरमा अध्ययनसंगै रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उभ्याइन काजलले।
काजलको दोहोरी गीतमा बढि नै चाँसो थियो। दोहोरी खेल्न पनि उत्तिकै रुचाउथिन उनी। दोहोरी गायनतर्फको चर्चाको कार्यक्रम इन्द्रणीमा आवद्ध छत्र शाहीसंग पहिलेदेखि नै परिचय थियो काजलको। ६ महिनाअघि उनी सोही परिचयको भरमा इन्द्रणीमा दोहोरी गाउन गइन्। इन्द्रेणीमा काजलले गाएको पहिलो दोहोरी नै भाइरल भयो। छत्र शाहीसंगै गाएको दोस्रो दोहोरी त युवट्युवको ट्रेन्डिङ १ मा पुग्यो।
काजल भन्छिन्, ‘इन्दे्रणीको सुरवाती यात्रा नै उत्साहजनक भएपछि अहिले फर्केर हेर्न परेको छैन्।’ उनले इन्द्रेणीले दिदै आएको स्थानले धेरै कलाकारलाई स्थापित बनाएको बताइन्। ‘कैलालीको बिकट पहाडी क्षेत्रमा मेरो घर छ। मलाई गायनमा रुची भएपनि गायन यात्रा तय गर्न निकै मुस्किल हुन्ग्थ्यो। तर इन्द्रेणीले स्थान दिएपछि छोटो समयमै मलाई र मेरो गायनलाई रुचाउने धेरै व्यक्ति कमाएकी छु,’ काजलले भनिन्।
लाइभ दोहोरी गायनबाहेक काजल जोशीको पहिलो गीत पनि सार्वजनिक भइसकेको छ। “हाम्रो जोडी जम्छ” बोलको गीत धेरै दर्शक स्रोताले मन पनि पराएका छन्। गीतमा जोशीले अभिनय पनि गरेकी छिन्। काजल जोशी र छत्र शाही सांगीतीक जोडीका रुपमा पनि अगाडि बढेको छ। छत्रसंगको सम्बन्ध सांगीतीक जोडी मात्रै हो वा त्यो भन्दा पनि अगाडि सोच्नुभएको छ ? भन्ने प्रश्नमा काजलले भनिन्, ‘अहिलेलाई सांगीतीक जोडी मात्रै भनिदिनुहोला।’

