सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ढाई करोडको योजना पूरा नहुँदै नाली भत्कियो, उपमहानगर र ठेकेदारको बदमासी

२०७८ असार २५, ०७:०९

वीरेन्द्र भट्ट, धनगढीः धनगढीमा बहुबर्षीय ठेक्का सम्झौता भएका अधिकांश योजना अलपत्र अवस्थामा छन्।

उपमहानगरपालिकाले म्याद थप गर्दै जाने तर, ठेकेदार कम्पनीले काम नगर्ने समस्याका कारण अधिकांश योजना अलपत्र पर्ने गरेका हुन्। यस्तै अवस्था धनगढी– ११ मा देखिएको छ। जहाँ दुई करोड ५० लाखको योजना अलपत्र पारिएको छ। धनगढी उपमहानगरले दुई वर्षअघि वडा नम्वर ११ को बेलास्थित थापाचोकदेखि घोड्सुवा सडक कालोपत्रेका लागि धनगढीको स्वार अन्जु जेभीसँग ठेक्का सम्झौता गरेको थियो।

उक्त सम्झौतामा दुवैतिर पक्की नालीसहित २ दशमलव एक किलोमिटर सडक कालोपत्रे गर्ने भनियो। तर, हालसम्म पनि कुनै काम हुन सकेको छैन्। सम्झौता अवधि सकिएको छ तर ठेकेदार कम्पनी र उपमहानगरको लापरवाहीले कमसल सामग्री प्रयोग गरी निर्माण गरिएको नाली भत्किएको छ। एक वर्षदेखि ठेकेदार कार्यक्षेत्रबाटै सम्पर्कविहीन भएको स्थानीयको गुनासो छ।

नाली भत्किएर स्थानीयको धानबालीमा क्षति पुगेको भएपनि कहिकतैबाट सुनुवाई नभएको उनीहरुको भनाई छ। घोड्सुवाका स्थानीय केबलसिंह रानाले नाली निर्माण गुणस्तरहीन भएको बताए। ‘सडक निर्माणको काम अझै अघि बढेको छैन। निर्माण गरिएको नालीसमेत भत्किएको छ,’ उनले भने, ‘एक वर्षदेखि ठेकेदार कार्यक्षेत्रमै आएको छैन्।

निर्माण गरिएका नाली काम नलाग्ने भईसके।’ यस्तै अर्का स्थानीय सन्तकुमार राईका अनुसार कहिले निर्माण सामग्री छैन भनेर र कहिले पैसा छैन भनेर नाली र सडक निर्माणको काम दुई वर्षदेखि अलपत्र परेको हो। ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्रीको प्रयोग गरी नाली निर्माण गरेकोमा निर्माण गरिएका नाली भत्किएको भएपनि धनगढी उपमहानगरले कारबाही गर्नुपर्नेमा उल्टै ठेक्का सम्झौता अवधि बढाउने काम गरेको भन्दै स्थानीयले विरोधसमेत जनाएका छन्।

लामो समयदेखि निर्माणको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन छन्। धनगढी उपहानगरपालिका–११ का वडा अध्यक्ष गंगाराम रानाले ठेकेदारलाई पटकपटक निर्माणका लागि सम्पर्क गर्दा पनि काम हुन नसकेको गुनासो गरे। ‘हामीले ताकेता गर्न लागेको लामै समय भयो, तर, कुनै काम हुन सकेन,’अध्यक्ष रानाले भने। उपमहानगरपालिकाभित्र विकास निर्माणका कामले तीव्रता लिन नसक्दा प्रत्येक वर्ष पुँजीगत बजेट कार्यान्वयन निराशाजनक देखिने गरेको छ।

साधन–स्रोत र कर्मचारी जनशक्ति तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा बढी भएपनि कार्यान्वयन पक्ष कमजोर देखिँदा उपमहानगरको स्थानीय कोषबाट बहुवर्षीय ठेक्का सम्झौता गरिएका अधिकांश योजनाको सम्झौता सकिदा समेत निर्माणले पूर्णता पाउन सकेको छैन्।

उपमहानगर र ठेकेदारको मत बाँझियो

धनगढी उपमहानगरपालिका र ठेकेदार कम्पनीको मत नै बाँझिएको छ। उपमहानगरपालिकाले रकम उपलब्ध नगराएका कारण निर्माणले अपेक्षित गति लिन नसकेको ठेकेदार कम्पनीको दाबी छ।

तर, उपमहानगरले भने आन्तरिक र केहि बाह्य कारणले निर्माण अलपत्र परेको बताएको छ। गंगा शाह सञ्चालक रहेको अन्जु निर्माण सेवाले थापाचोक घोड्सुवा सडक निर्माणको ठेक्का लिएका थिए। उनले गुणस्तरहीन सामग्रीको प्रयोग गरी नाली निर्माण गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। तर, उपमहानगरले कारबाही गर्नुको सट्टा उल्टै ६ महिना म्याद थपेकाले स्थानीयले उपमहानगर र ठेकेदारबीच आर्थिक चलखेल भएको आंशका गरेका हुन्। धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्धिजराज भट्टले कात्तिकमै सम्झौता अवधि सकिएको जानकारी गराए।

केहि आन्तरिक र केहि वाह्य कारणले सो सडक निर्माणको काम अलपत्र परेको उनले बताए। ठेकेदारलाई पटकपटक निर्माणका लागि ताकेदा गर्दा पनि काम नभएको प्रमुख भट्टको दाबी छ। तर, अन्जु निर्माण सेवाका सञ्चालक शाहले ६ महिना म्याद थप्ने तयारी भएको बताइरहेका बेला प्राविधिक शाखा प्रमुख भट्टले भने मंसिरसम्मका लागि म्याद थप भइसकेको बताएका छन्।

उता शाहले जेठ महिनामा ठेक्का सम्झौता अवधि सकिएको बताएपनि भट्टले भने कात्तिमै म्याद सकिएको दाबी गरेका छन्। ठेकेदार कम्पनी र धनगढी उपमहानगरपालिकाको यो फरक फरक अभिव्यक्तिले नाली र सडक निर्माणमा मिलोमतोमा अनियमितता भएको हुनसक्ने स्थानीयको आंशका छ।

चालू आर्थिक वर्ष सकिनै लागेको छ। तर, उपमहानगरका निर्माणका कामले तीव्रता लिन सकेको छैन। यस वर्षको बजेटमा समावेश गरिएका सडक, पुल, नाली निर्माणलगायत कतिपय ठूला योजनाको निर्माण अझै दयनिय देखिन्छ। उपमहानगरपालिकाले विकास निर्माणका काम आर्थिक वर्षको अन्त्यमा हतारमा सम्पन्न गर्ने अवस्थाका कारण ती योजनाहरुको दिगोपनसमेत नहुने नगरवासीको गुनासो छ।

कमेन्ट लोड गर्नुस